बेइमानीको राजनीति धेरै समय टिक्दैन: नेता कोइराला


नवलपरासी, २८ फागुन,
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शशाङ्क कोइरालाले बेइमानीको राजनीति धेरै समय नटिक्ने बताउनु भएको छ । सोमबार नवलपरासी(बर्दघाट सुस्तापूर्व)को पिठौलीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले यो सरकार राजनैतिक धोकाबाट बनेको हुँदा धेरै नटिक्ने दाबी गर्नु भयो ।
राष्ट्रपति बनाउने भन्दै गिरिजाप्रसादलाई धोका दिएका प्रचण्डले राष्ट्रिय सभा अध्यक्ष निर्वाचन अगाडी फेरि पनि काँग्रेसलाई धोका दिएको कोइरालाले स्मरण गर्नु भयो । “प्रचण्डले विगतमा झैँ धोका दिनु भयो”,उहाँले भन्नु भयो,“यो राजनैतिक धोकाधडीबाट बनेको सरकार हो यसको भविष्य छैन ।”
काँग्रेस सँगको गठबन्धन प्रचण्डको राजनैतिक बेइमानीका कारण टुटेको भए पनि काँग्रेसका लागि यो राम्रो भएको कोइरालाले टिप्पणी गर्नु भयो । “केही मुख्यमन्त्री र मन्त्री पद गए पनि काँग्रेसको भविष्यका लागि गठबन्धन टुट्नु राम्रो हो, अब निर्वाचन अगाडी काँग्रेसले कसै सँग पनि गठबन्धन गर्दैन”,उहाँले भन्नु भयो ।
प्रचण्डबाट धोका नै भए पनि गठबन्धनबाट काँग्रेस मुक्त भएको बताउँदै उहाँले अब पार्टी सङ्गठन बनाउन र पार्टी भित्रका फरक बिचार समूहका साथीहरू सँग गठबन्धन गरेर अगाडि बढ्ने अवसर प्राप्त भएको बताउनु भयो ।

प्रतिक्रिया