हिन्दु र मुस्लिमको आस्थाको केन्द्र मदारबाबा मेला सुरु
मध्यविन्दु (नवलपरासी),१७ फागुन,
हिन्दु र मुस्लिम धर्मावलम्बीहरूको आस्थाको केन्द्र मदारबाबा मेला आज देखि सुरु भएको छ । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–६ स्थित दाउन्ने डाँडामा रहेको मदारबाबा मेलामा दर्शनार्थीहरुको बाक्लो चहलपहल रहेको छ ।
हिन्दू र मुस्लिम धर्मावलम्बीले श्रद्धापूर्वक पूजाआजा गर्ने मदारबाबा मेलामा नेपाल र भारतका हजारौँ भक्तजनहरू आएका छन् । मेला आज देखि सुरु भए पनि गत सोमवार देखि नै दर्शनार्थि र बजार राख्नेहरूको भिडभाड लागेको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताउनु भयो ।
पूर्वपश्चिम राजमार्गको बर्दघाटदेखि २१ किलोमिटर पूर्वमा रहेको मदारथानमा हिन्दुहरूको पर्व शिवरात्रि सुरु हुनुभन्दा एक हप्ता अघि देखि ठुलो मेला लाग्ने गर्दछ । महाशिवरात्रि सम्म सञ्चालन हुने उक्त मेलामा नेपाल र भारतका गरी लाखौँ दर्शनार्थीहरुको घुँईचो लाग्ने गर्दछ ।
मेला व्यवस्थित गर्न मेला क्षेत्रमा सुरक्षाको राम्रो व्यवस्था गरिएको अध्यक्ष गिरीले बताउनु भयो ।
“मदारबाबा स्थान मुस्लिम समुदायको नेपालकै ठुलो र ऐतिहासिक स्थल हो । विशेष गरी मुस्लिम समुदायको धार्मिक स्थल भए पनि त्यहाँ हिन्दु, बौद्ध धर्मावलम्बीको पनि आगमन हुने गरेको छ”,उहाँले भन्नु भयो,“यो स्थानको प्रवेशद्वार नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–२ महलवारिमा र मुख्य समाधि स्थल भने नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका मदारी डाँडामा रहेको छ । मदारी डाँडामा पैदल यात्रा मार्फत पुग्न सकिन्छ ।”
मेलामा महल बारी मस्जिदका मठाधिस अमिरुल्लाह अन्सारी नै परम्परादेखि मदारी डाँडाको गद्दीमा आसीन हुने परम्परालाई यस वर्ष पनि निरन्तरता दिइएको विनयी त्रिवेणी गाउँपालिका ६ का वडा अध्यक्ष नुरेन शाहले बताउनु भयो ।
“यस वर्षको मेलामा करिब सात लाख भक्तजनले मेला अवलोकन गर्ने अनुमान गरिएको छ” शाहले भन्नु भयो ।
मदारबाबाले थुप्रै मुलुकसहित नेपालको नवलपरासी र बुटवलस्थित फुलबारीपार्क क्षेत्रमा समेत तपस्या गरेको इतिहास पाइन्छ । यहाँ भाकल गर्नाले सन्तान नहुनेले सन्तान प्राप्त गर्छन् भन्ने जनविश्वास समेत रहेको छ ।