कावासोतीमा पाँच दिवसीय नेतृत्व विकास तथा उद्घोषण तालिम सुरु


२७ माघ , नवलपुर । नवलपुरको कावासोतीमा आमा समूहका पदाधिकारीहरूको लागि पाँच दिवसीय नेतृत्व विकास तथा उद्घोषण तालिम सुरु भएको छ । जिल्लाको कावासोती नगरपालिका ५ स्थित सिंह निवास वनको सभा हलमा तालिम सुरु भएको हो ।

तालिम बुद्ध दर्शन टेलिभिजनको आयोजना एवम् कावासोती नगरपालिका वडा नम्बर ५ को समन्वयमा तालिम सञ्चालन भइरहेको छ । शनिवार वाट सुरु भएको समुद्घाटन तालिम टेलिभिजनका प्रबन्ध निर्देशक थाम बहादुर गाहाको अध्यक्षता एवम् कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

यस्तै गरी कार्यक्रममा टेलिभिजनको केन्द्रीय संस्था आदिवासी जनजाति उत्थान सूचना तथा सञ्चार सहकारी संस्थाका अध्यक्ष जगातकाजी गुरुङ, कावासोती नगरपालिका ५ का वडाध्यक्ष नीरज कुमार पुन र वडा सदस्य लगायतको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले समाजलाई सभ्य र नैतिक वान बनाउनका लागि आमा समूहहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनु भयो । उहाँले विशेषसरि समाजमा नेतृत्वदायी एवं सकारात्मक परिवर्तन लागि आमा समूहको भूमिका महत्त्वपूर्ण रहने भन्दै यो तालिम प्रभावकारी हुने बताउनु भयो ।

यस्तै गरी उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै वडाध्यक्ष नीरज कुमार पुनले तालिममा सिकेका ज्ञानलाई व्यवहारिक जीवनमा उतार्न प्रशिक्षार्थीहरूलाई आग्रह गर्नु भयो । तालिमको पहिलो दिन टेलिभिजनका समाचार प्रमुख प्रेम ध्वज गाहाले नेतृत्व र विकासका बारेमा प्रशिक्षण दिनु भएको थियो ।

करिब २० जना सहभागी प्रशिक्षार्थीहरुले तालिमले आफूहरूमा आत्मविश्वासका साथै समाजमा सकारात्मक भूमिका निर्वाह गर्नका लागि सहयोग पुग्ने अपेक्षा गरेका छन् । तालिममा कावासोती ५ का ८ वटा आमा समूहका पदाधिकारीहरूको सहभागिता रहेको छ । शनिवार देखी सुरु भएको तालीम आगामी फाल्गुन २ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया