कावासोतीमा भिक्षु विसराद भन्तेद्धारा पूजा तथा प्रवचन
यामु कुमाल , ६ असोज, नवलपुर,
बौद्ध धर्मालम्बीहरूको त्रैमासिक वर्षावास भिक्षाटन कार्यक्रम अन्तर्गत रहेर नवलपुरको कावासोती बौद्ध गुम्बा विहारमा नवमी तिथिको पूजा गरिएको छ । जिल्लाको कावासोती नगरपालिका ३ मा रहेको उक्त बौद्ध गुम्बा विहारमा त्रैमासिक वर्षावास भिक्षुहरूको दौरान चलीरहेको छ । सोही वर्षावास अन्तर्गत शनिवार नवमी तिथिमा विधिवत रूपमा पूजा सम्पन्न गरिएको कावासोती बौद्ध गुम्बा विहार समितिका अध्यक्ष देव बहादुर सारुले बताउनु भयो । गुम्बामा आगामी कात्तिक ११ गतेसम्म पूर्णिमा , पञ्चमी , नवमी र औँसी तिथिमा पूजा तथा प्रवचन हुनेछ । अन्तरराष्ट्रिय परियाती बौद्धविहारबाट आउनु भएका भिक्षु विसराद भन्तेद्धारा पूजा तथा प्रवचन भएको छ । बौद्ध धर्मालम्बीहरूको परम सुख निर्वाण लाभ हुने आध्यात्मिक ज्ञान सहितको अनन्य पुण्य लाभ गर्ने महान मौलिक परम्परा त्रैमासिक वर्षावास २०८० को अवसरमा गुम्बाहरूका विभिन्न कार्य तथा नित्यकर्महरू भइरहेका छन् । कावासोती बौद्ध गुम्बा विहारमा वर्षावास तिथिहरूमा भिक्षु भन्तेहरूबाट पत्तचशिल , अष्टशील प्रदान , बुद्ध पूजा , परित्राण तथा जीवनोपयोगी धर्म उपदेश तथा श्रद्धालु उपासक उपासिकाहरूबाट चीवर , अष्टपरिष्कार , संघदान , जल तर्पण सहित पुण्यानुमोदन , भोजन र १०८ दीप प्रज्वलन जस्ता कार्यक्रमहरू भएका छन् । उक्त कार्यक्रममा बौद्ध धर्मालम्बी तथा विभिन्न धर्ममा आस्था राख्ने सम्पूर्ण व्यक्तित्वहरूलाई भिक्षुहरूलाई दान प्रदान गरी पुण्य कमाउन अनुरोध समेत गरिएको छ ।