विनयी त्रिवेणी गाउँपालिकाद्धारा नदीजन्य पदार्थ बेचबिखनमा रोक
विनयी त्रिवेणी, ४ असोज,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकाले नदीजन्य पदार्थ(ढुङ्गा, गिट्टी, बालुवा) बेचबिखनमा रोक लगाएको छ । गाउँपालिका भित्र सञ्चालनमा रहेका क्रसर उद्योग, बालुवा प्रशोधन उद्योग तथा सप्लायर्स कम्पनीहरुलाई नदीजन्य पदार्थ बेचबिखनमा रोक लगाइएको हो । विनयी त्रिवेणी गाउँपालिकामा क्रसर उद्योग चार, प्रशोधन केन्द्र २० र सप्लायर्स १५ वटा सञ्चालनमा रहेका छन् ।
क्रसर उद्योग, बालुवा प्रशोधन उद्योग तथा सप्लायर्स कम्पनीहरूले नदीजन्य पदार्थको मौज्दात(स्टक) प्रमाणित गर्नु पर्नेमा अहिले सम्म कुनै पनि कम्पनीहरूले प्रमाणित नगरे पछि बेचबिखनमा रोक लगाइएको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनु भयो ।
“वार्षिक मौज्दात विवरण स्वघोषणा गरि गाउँपालिकाबाट प्रमाणित गराएर मात्र बेचबिखन गर्नुपर्नेमा हाल सम्म कुनै पनि कम्पनीहरूले नियमानुसार कार्य नगरेकाले नदीजन्य पदार्थ बेचबिखन नगर्न सूचना जारी गरिएको हो”,उहाँले भन्नु भयो,“गाउँपालिकामा विवरण पेस गर्न पटक पटक जानकारी गराउँदा पनि अटेरी गरे पछि खरिद विक्री नै रोक्नु परेको छ ।”
ढुङ्गा, गिट्टी, बालुवा को खरिद विक्रीको विवरण मासिक रूपमा गाउँपालिकामा पेस गर्नु पर्नेमा कम्पनीहरूले त्यो नियम पनि पालना गरेका छैनन । गाउँपालिकाले जारी गरेको सूचनाको बेवास्ता गरि नदीजन्य पदार्थ विक्री वितरण गरेमा कारबाही गरिने अध्यक्ष गिरीले बताउनु भयो ।
“नियमानुसार विवरण र राजस्व दाखिला गर्ने कम्पनीलाई विक्री वितरण गर्न खुल्ला गरिने छ, नियममा नआउनेलाई कानुन अनुसार गर्ने छौ”,उहाँले भन्नु भयो ।
गाउँपालिका भित्रको विनयी खोला, गँगटे खोला र सुनही खोला वाट नदीजन्य पदार्थ उत्खनन गर्ने गरिएको छ । आर्थिक वर्ष २०७९/८० मा गाउँपालिकाले खोलाजन्य पदार्थको विक्री वापत आठ करोड राजस्व सङ्कलन गरेको विनयी त्रिवेणी गाउँपालिका प्राविधिक शाखाकाका प्रमुख शम्भु के.सीले बताउनु भयो ।
“चालु आर्थिक वर्षका लागि नदीजन्य पदार्थ निकासीका लागि ठेक्का प्रक्रियाको अन्तिम चरणमा रहेका छौ”,उहाँले भन्नु भयो,“तर स्थानीय क्रसर उद्योगहरूले गत आर्थिक वर्षको विक्री विवरण र मौज्दात पेस नगर्दा समस्या परेको छ ।”