खुट्टाले लेखेर साहित्य सृजना गर्ने हुप्सेकोटका खाम्चालाई ल्यापटप सहयोग


यामु कुमाल, २८ भदौ, नवलपुर,

विद्यार्थी सहयोग कार्यक्रम अन्तर्गत लायन्स क्लब अफ चितवन वाङ्मयका सल्लाहकार कर्णेल धन बहादुर मास्की रानाले शारीरिकरुपमा अशक्त याम खाम्चा मगरलाई ल्यापटप सहयोग गर्नु भएको छ । आफ्नो जन्मदिनको अवसरमा नवलपुरको कावासोती नगरपालिका २ निवासी रानाले दुबै हात नचल्ने ,बोल्न नसक्ने तर खुट्टाले लेख्ने, कम्प्युटर, ल्यापटप, मोबाइल चलाउन सक्ने खाम्चालाई उक्त सामग्री हस्तान्तरण गर्नु भएको हो । बिहीबार कावासोतीमा एक औपचारिक कार्यक्रमका बिच खाम्चालाई सम्मानका साथ ल्यापटप वितरण गरेको कर्णेल धन बहादुर मास्की रानाले बताउनु भयो ।

पाल्पा जिल्लाको रामपुर नगरपालिका १ बर्दाकोटका २५ वर्षीय याम खाम्चा मगर शारीरिक रूपमा अशक्त रहेपनि स्मरण शक्ति राम्रो रहेको छ । उहाँ जिज्ञासु हुनाका साथै केही नयाँ कुरा सुन्ने र देख्ने बित्तिकै इसारा गरेरै त्यसबारे जानकारी लिन खोज्ने गर्नु हुन्छ । उहाँले दुबै हात चलाउन नसक्ने र बोल्न पनि नसक्ने समस्या जन्मजात नै हो । कक्षा १० सम्म पाल्पाकै श्री बालहित माध्यमिक विद्यालयमा अध्ययन गर्नु भएका खाम्चाले नवलपुरको हुप्सेकोट बसाइँसराइ आएपछि लोकसेवा माध्यमिक विद्यालयबाट प्लस टु उत्तीर्ण गर्नु भएको छ । उहाँले बेसिक कम्प्युटर कोर्स पूरा गर्नु भएको छ । आफू शारीरिक रूपमा अशक्त भएपनि नयाँ प्रविधिको अध्ययनमा रुची राख्ने खाम्चाले खुट्टाको माध्यमबाट नै ल्यापटप, कम्प्युटर मोबाइल र कापीमा गजल , मुक्तक र कविताहरू लेख्ने गर्नु भएको छ । शारीरिकरुपमा अशक्त भएपनि फरक क्षमता भएका खाम्चाको मेहेनतलाई सम्मान गर्दै कर्णेल धनबहादुर मास्की रानाले आफू ७५ औँ वसन्त पार गरी ७६ औँ वसन्तमा प्रवेश गरेको अवसरमा खाम्चालाई हौसला बढाउनका लागि ल्यापटप सहयोग गरेको बताउनु भएको छ ।

“बौद्धिक क्षमतालाई उजागर गर्ने प्राविधिक उपकरणहरू मार्फत सहज हुने र प्रविधिको प्रयोग गरी साहित्यिक सृजना गर्न सहज होस भनेर ल्यापटप सहयोग गरेको हो” मास्की रानाले भन्नु भयो ।

गर्भावस्थामै जन्डिस (कमलपित्त) रोगले ग्रस्त याम खाम्चा मगर औषधोपचारको अभावमा जीवनभर अर्काको साहारामा बाँच्नु परेको छ । दुबै हात चलाउन नमिले पनि फुर्सदको समयमा उहाँले खुट्टाले चम्चा च्यापेर खाना खाने गरेको आमा योगमाया खाम्चाले बताउनु भयो । फरक क्षमताका यामको कार्य देख्ने जो कोहीलाई पनि साहित्यकार झमक घिमिरेको झ–झल्को आउँछ । उहाँले खुट्टाले लेखपढ गरेर भविष्यमा झमक घिमिरे झै ठूलो मान्छे बन्ने सपना रहेको बताउनु गर्नु हुन्छ ।

ल्यापटप हस्तान्तरण कार्यक्रममा कार्यक्रम लायन्स क्लब अफ चितवन वाङ्मयका अध्यक्ष लीला मास्की रानाको अध्यक्षत एवम् निवर्तमान डिस्ट्रिक गर्भनर सिद्धार्थलाल चुके नेवारको प्रमुख आतिथ्ययता रहेको थियो । यस्तैगरी फस्ट भ्वाइस डिस्ट्रिक गर्भनर दिननाथ न्यौपाने, बाल गोपाल चुके ,क्लस्टर चिफ पुरन थापा मगर, जोन चियर पर्सन हरिप्रिया, समाजसेवी भोजराज दाहाल, हरिप्रसाद ढुङ्गाना, युवराज सुवेदी, क्याप्टेन लेखनाथ तिवारी, सुबेदार मेजर प्रेम बहादुर राना, योग प्रसाद रिजाल लगायतको विशेष आतिथ्ययता रहेको थियो ।

 

प्रतिक्रिया