हुप्सेकोटका पहिरो विस्थापित दुई वर्ष देखि अस्थाई शिविरमा


बिष्णुप्रसाद गौडेल,६ भदौ,नवलपरासी(बर्दघाट सुस्तापूर्व) हुप्सेकोट गाउँपालिका ५ की २८ वर्षिया दिलमायाँ सोमै मगर झरी परेको दिन निदाउन सक्नुहुन्न ।
हुप्सेकोट गाउँपालिका ५ बागखोरमा दुई वर्ष अघिको पहिरोसँगै आफू बस्दै आएको गाउँनै भासिएपछि उहाँ सहित १८ घरपरिवार पूर्ण रुपमा विस्थापित भएको त्रासिदिन पूर्ण दिनको सम्झाना अझै बल्झिरहेको छ । पहिरो पछि गाउँपालिकाले उद्धार गरेर विस्थापितहरुलाई सुरक्षित स्थानमा राख्यो तर अस्थाई शिविरमा आए पछि सित्केरी हुनुभएको दिलमायाँलाई आजभोली तिनै विपतका दिनहरु संगै सन्तान हुर्काउने चिन्ताले सताउने गरेको छ । “दुई वर्ष भइ सक्यो हामि विस्थापित भएको, हाम्रो दैनिकी निकै कष्टपुर्ण वन्ने गरेको छ”उहाँले भन्नु भयो “यहिँ आएर सुत्केरी भए बच्चा पनि यहिँको भुईमा हुर्किएर दुई वर्षको भई सक्यो तर हाम्रो स्थाई वासको टुंगो लाग्न सकेन् ।”
सोहि स्थानका खेम बहादुर सोमै मगरकले १३ रोपनी जग्गा सहितको घर, खेत वारी अनि घासदाउरा गरेका दिनहरु सम्झना आइरहने बताउनु भयो । “एकै रातको पानीले जमिन भासिने र पहिरो जानेभएपछि गाउँपालिकाले उद्धार गर्दा ज्यान त बाच्यो अब कसरी बाच्ने भन्ने चिन्ता रहेको छ”उहाँले भन्नु भयो ।
प्राकृतिक विपत्तिले निम्त्याउने विविध समस्याहरुको उच्च जोखिमा पर्ने हुदा पहाडी र नदितटिय क्षेत्रका वासिन्दाहरुलाई वर्षाको समयमा धेरै चिन्ताले सताउने गर्दछ । दुई वर्षदेखि अस्थायी टहरामा बस्दै आएका हुप्सेकोटका पहिरो प्रभावितहरु भने सरकारले दिगो व्यवस्थापन गरिदिने प्रतिक्षामा छन् ।


वि.सं.२०७८ सालको असार २४ गते पहिरोले विस्थापित भएका घरपरिवारको यत्तिका समयसम्म पनि स्थाई बसोवासको टुङ्गो लाग्न सकेको छैन् । पहिरोका कारण पुर्ण रुपमा विस्थापित भए पछि विद्यालय र सामुदायिक भवन हुदै अहिले दुई कठ्ठाको सानो चौर भित्र १८ घरका बासिन्दा अटाइनअटाइ बसेका छन् । एकातिर दुर्गन्ध, अर्कोतिर गाउँबासको चिन्ता, बालबालिकालाई हावा,पानी र सर्पको टोकाईबाट जोगाउनु चुनौती माथि चुनौतीको चांङ थोपरिएको यहाँका बासिन्दालाई वर्षात र झरीमा झन मन आत्तिने गरेको छ ।
अहिले उनीहरु हुप्सेकोट १ जुकेपानीको एउटा सानो चौरमा शरण लिएर बसेका छन् । हुप्सेकोट गाउँपालिकाले निर्माण गरिदिएको अस्थाई घरमा उनिहरु आश्रय लिइरहेका छन् ।
विस्थापित १८ घर परिवारको दैनिकी अहिले ज्याला मजदुरी गरेर वितेको छ । ब्लक र टिन लगाइएको १÷१ कोठा र एउटा टेण्ट उनीहरुको बास काट्ने थलो भएको छ । बिहान बेलुकाको छाक ज्याला मजदुरीकै भरमा काटे पनि यो वर्खा कसरी काट्ने चिन्ता उनीहरुमा छाएको छ । गत बर्ष पनि टेण्टकै भरमा खाली चौरमा जाडो काटेका उनीहरुलाई अहिले पनि टेण्ट सानो टहरो र खाली चौरमै काट्नु पर्ने बाध्यता देखिएको छ ।
यो झरिमा खासगरी सुत्केरी महिला र जेष्ठ उमेरका बुढाबुढीको हेरचाहामा समस्या हुने गरेको तिलबहादुर सोमै मगरले बताउनु भयो । “सानो एउटा कोठा भित्र ८ देखि १०÷१२ जनाको परिवार बस्नु पर्ने बाध्यताले अहिले पिरोलिरहेको छ”उहाँले भन्नु भयो “पहिरो पिडितको एउटै चाहाना छ कुनै एक ठाउँमा लगेर स्थायी बसोबासको व्यवस्था मिलाइदिए हुन्थ्यो ।”
उनीँहरु बस्दै आएको गाउँमा प्रति घर एक देखि तीन विगाहा जमिन थियो । अहिले ती जमिन मात्र खोसिएन बस्ने बास पनि खोसिएको छ । अरुको जग्गामा शरण लिएर बस्नु परेको छ ।


पहिरो पिडितको एउटै स्वर छ पहिरोले विस्थापित भएपछि पुनः गाउँ फर्किएर जान सक्ने अवस्था पनि छैन । पहिरो विस्थापतिलाई अहिले सम्म गाउँपालिकाले व्यवस्थापन गर्दै आएको छ तर स्थायी व्यवस्थापनका लागी प्रदेश र केन्द्र सरकारले विशेष पहल गर्नु पर्ने हुप्सेकोट गाउँपालका अध्यक्ष लक्ष्मी देवी पाण्डेले वताउनु भयो ।
“२०७८ असारमा परेको अविरल वर्षाका कारण हुप्सेकोट गाउँपालिका ५ वाकखोरमा जमिन भासिने र पहिरो जाने भएपछि गाउँपालिकाले १८ घरपरिवारलाई उद्धार गरेका थियाँै ।” अध्यक्ष पाण्डेले भन्नु भयो “पहिरो प्रभावित परिवारको दिगो व्यवस्थापनका लागि संघ सरकारलाई पटक पटक ध्यानाकर्षण गराउदा पनि सुनुवाई भएको छैन् ।”(रासस)

 

प्रतिक्रिया