कावासोतीमा चामल मिल र चामल बिक्रेता पसलको अनुगमन


नवलपुर । नवलपरासी पूर्व नवलपुरको कावासोतीमा चामल मिल र चामल बिक्रेता पसलको अनुगमन गरिएको छ । विभिन्न चाडपर्व नजिकिरहेको तथा चामल आयातमा कमी भन्ने सञ्चार माध्यमा खबर प्रकाशित भएसँगै बजारको अवस्था बुझ्न गृह मन्त्रालयको निर्देशन अनुसार आज कावासोतीमा बजार अनुगमन गरिएको हो ।
चामलको कृत्रिम अभाव सृजना गर्ने, मूल्यवृद्धि हुने, कालोबजारी गर्ने सम्भावना भएकाले चामल मिल तथा बिक्रेताको पसल अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रशासकीय अधिकृत भरत सापकोटाले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सुवास कुमार लामिछाने, पर्यटन तथा घरेलु उद्योग कार्यालयका प्रमुख सागर खनाल, प्रहरी, उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेन्द्र पाण्डे, उपभोक्ता हकहित संरक्षण मञ्चका प्रतिनिधि लगायतको सहभागितामा अनुगमन गरिएको थियो ।बजार अनुगमनका क्रममा  हाल बजारमा पर्याप्त मात्रामा चामल रहेको पाइएको प्रशासकीय अधिकृत सापकोटाले बताउनुभयो । मूल्यमा केही मात्र बृद्धि भएको भेटिएको र चामल मिल तथा बिक्रेतालाई उपयुक्त मूल्य भन्दा धेरैमा बिक्री नगर्न भनिएको उहाँले बताउनुभयो ।
हाल बजारका चामल बिक्रेताले मुख्य सप्लायर्सबाट मगाउँदा केही मूल्य बढेको तथा चामल मिलले धान खरिदमा समेत केही मूल्य बढी तिर्नु परेको अवस्थाले उपभोक्ताको मूल्यमा केही वृद्धि भएको भेटिएको छ ।मुख्य गरि चामलको कृत्रिम अभाव सिर्जना गरि कालो बजारी हुन नदिन  अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुवास कुमार लामिछानेले बताउनुभयो । उहाँले कृत्रिम अभाव नगरी खरिद मूल्यभन्दा धेरै महँगो मूल्यमा चामल लगायतका बस्तु बिक्री नगर्न समेत व्यवसायीलाई अनुरोध गर्नुभयो । चाडपर्व समेत नजिकिरहेकाले खाद्यान्न लगायत उपभोग्य बस्तुको सहज आपूर्तिको व्यवस्थापन गर्न तथा हुन सक्ने कालोबजारी नियन्त्रणका लागि जिल्लाका विभिन्न स्थानमा अनुगमनलाई बढाउँदै लैजाने जनाइएको छ ।

प्रतिक्रिया