नवलपुरमा ४ सय ३८ नयाँ उद्योग दर्ता


नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गत आर्थिक वर्षमा ४ सय ३८ वटा नयाँ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख सागर खनालका अनुसार गत आर्थिक वर्षमा सो सङ्ख्यामा नयाँ उद्योग दर्ता भएका हुन् । गत वर्ष थपिएका नयाँ उद्योगमा कृषि तथा वन वातावरण, पर्यटन र सेवामूलक उद्योगहरू धेरै रहेका छन् ।

चार सय ३८ नयाँ उद्योग दर्ता भएपनि नयाँ उद्योग खुल्ने दर भने घटेको छ । पर्यटन तथा उद्योग कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/०७९ भन्दा गत आर्थिक वर्षमा नयाँ उद्योग ,व्यवसाय खुल्ने दरमा कमी आएको छ । करिब ५८ प्रतिशतले नयाँ उद्योग खुल्ने दरमा कमी आएको कार्यालय प्रमुख खनालले बताउनुभयो ।

पर्यटन तथा उद्योग कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा आर्थिक वर्ष २०७८/०७९ एक हजार ५० नयाँ उद्योग दर्ता भएका थिए । तर गत आर्थिक वर्षमा भने जम्मा ४ सय ३८ वटा नयाँ उद्योग दर्ता भएको पर्यटन तथा उद्योग कार्यालय नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरका प्रमुख सागर खनालले बताउनुभयो ।

गत आर्थिक वर्षमा अघिल्लो आव भन्दा ६ सय १२ वटा उद्योग कम दर्ता भएको उहाँले बताउनुभयो । देशको आर्थिक अवस्थामा आएको संकुचनका कारण नयाँ उद्योग दर्तामा कमी भएको हुन सक्ने उहाँले बताउनुभयो । केही समय यता देशको आर्थिक अवस्था त्यति राम्रो नहुनु साथै उद्योग दर्तामा झण्झट धेरै हुनु, बजारीकरणमा समस्या हुनु आदि कारण नयाँ उद्योग दर्तामा कमी आएको कार्यालय प्रमुख खनालले बताउनुभयो ।

नयाँ उद्योग दर्ता सहित पुराना खारेजी गर्ने क्रम समेत बढेको उहाँको भनाई छ । गत आर्थिक वर्षमा ७५ वटा पुराना उद्योग खारेजी भएका छन् । आर्थिक वर्ष ०७८/०७९ मा ६४ र ०७७/०७८ मा ४५ उद्योग खोजी भएका थिए । वाणिज्य व्यवसाय दर्तामा समेत गत आर्थिक वर्षमा धेरै कमी आएको छ । गत आर्थिक वर्षमा जम्मा ४ सय ८२ नयाँ वाणिज्य व्यवसाय दर्ता भएका छन् । आर्थिक वर्ष २०७८/०७९ मा एक हजार १५८ वटा नयाँ वाणिज्य व्यवसाय दर्ता भएको उद्योग तथा पर्यटन कार्यालय नवलपुरका प्रमुख खनालले बताउनुभयो ।

आर्थिक वर्ष २०७९/८० को असार मसान्त सम्मको तथ्याङ्क अनुसार नवलपुरमा नयाँ थपिएका उद्योग सहित जम्मा उद्योगको सङ्ख्या ६ हजार ७४७ पुगेको छ । वाणिज्य तर्फ भने ८ हजार ७९८ रहेको पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख खनालले बताउनुभयो ।

प्रतिक्रिया