कावासोती नगरपालिकामा आफ्नै मोवाइल मार्फत राजश्व शुल्क तिर्न सकिने


कावासोती,४ साउन,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिकाले सेवा प्रबाहलाई प्रबिधि मैत्री बनाउन क्यूआर कोड मार्फत भुक्तानी सुरुवात गरेको छ ।
क्यूआर कोडबाट भुक्तानीको सुरुवात गर्दै नगरप्रमुख विष्णुप्रसाद भुषालले क्यूआर कोड सेवा सुचारु भएपछि सेवाग्राहीलाई आफ्नै मोवाइल मार्फत राजश्व शुल्क तिर्न सजिलो हुने बताउनु भयो ।
कार्यक्रममा पहिलो सेवाग्राही रामकुमार श्रेष्ठले कनेक्ट आइपिएस मार्फतबाट मालपोत कर भुक्तानी गर्नु भएको थियो । राजश्व भुक्तानी गर्दै श्रेष्ठले प्रविधिमैत्री पालिका निर्माणमा यो सेवाले इट्टा थप्ने काम गरेको बताउनु भयो । उहाँले भन्नुभयो “जनताले दुई चार सय रुपैयाँ कर तिर्नकै लागि दिनभरको समय खर्चिनु पर्ने लाइन बस्नुपर्ने बाध्यता हट्दा खुसी लागेको छ, पायक पर्नेलाई त ठिक थियो तर अलि टाढाबाट आवतजावत गर्दा कर भन्दा बढि खर्च हुने गरेको थियो ।”
नगरपालिकाका सूचना प्रविधि अधिकृत रुपेश गिरीका अनुसार सेवाग्राहीले आफ्नो करदाता पोर्टलमा लगइन गरी आफ्नो सम्पति विवरण एवम् करको अभिलेख हेर्न र भुक्तानी गर्न सक्नेछन् । साथै वालेट मार्फत लोकल गभर्नमेन्ट पेमेन्टमा कावासोती नगरपालिका छनौट गरी सिधै भुक्तानी समेत गर्न सकिनेछ । पछिल्लो समय पालिकाले सूचना प्रविधि मार्फत विभिन्न सेवा उपलब्ध गराएको हुँदा आफुँहरुले जनताको घर घरमा सेवा सम्बन्धि जानकारी दिन डिजिटल साक्षरता कार्यक्रम समेत संगसंगै लैजाने उहाँले बताउनु भयो ।
पालिकाले अहिले सम्म राजश्व संकलन नगद रुपैयाँ बुझ्दै आईरहेको बताउँदै अब यो सेवाबाट सबैलाई सहज हुने नगरप्रमुख भुषालको भनाई छ । क्यूआर कोड सेवा सुरु पश्चात सिधै बैंक खातामा जम्मा हुने भएकोले राजश्वको रकम बैंक दाखिला ढिलाहुन सक्ने समस्याबाट मुक्त भएको भुषालले बताउनु भयो । डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रवद्र्धन गर्न यसले टेवा पुयाउने विश्वास लिइएकोे उहाँले बताउनु भयो ।
कावासोती नगरपालिकाका १७ वटा वडामा क्यूआर कोड राखिने हुँदा आफ्नै घरमा बसेर पनि राजश्व शुल्क तिर्न सकिने हुँदा सर्वसाधारणलाइ वडा–वडामा धाईराख्नुपर्ने झंझटबाट मुक्त हुने प्रमुख प्रशासकिय अधिकृत भुपेन्द्र पाण्डेयले बताउनु भयो ।

प्रतिक्रिया