नवलपरासीपूर्व मा १८ जना मिटरब्याज पीडितको उजुरी दर्ता


१० जेठ,नवलपरासी(बर्दघाट सुस्तापूर्व) मा १८ जना मिटरब्याज पीडितले उजुरी दर्ता गराएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा हालसम्म आठ महिलासहित १८ जनाले उजुरी दर्ता गराएको कार्यालयका मुद्दा शाखाका नायव सुब्बा यादव पराजुलीले बताउनु भयो ।
अनुचित लेनदेन (मिटर ब्याज) पीडित सहायता कक्षका फोकल पर्सन समेत रहनुभएका पराजुलीका अनुसार उजुरी दर्ता गराउनेमा कावासोती नगरपालिकाका ७ जना, मध्यविन्दु नगरपालिकाका ५ जना, देवचुली नगरपालिकाका ५ जना र विनयी त्रिवेणी गाउँपालिकाका १ जना रहेका छन् ।
“उजुरीकर्ताहरुले चेक भन्दा बढी नगद करोबार गरेको देखिन्छ”उहाँले भन्नु भयो “उजुरीकर्ताले २२ जनासम्मलाई विपक्षी बनाएर उजुरी दिनु भएको छ ।”
उजुरीका आधारमा पाँच देखीँ सात करोड सम्म कारोबार गरेको देखिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताउनु भयो । “उजुरीलाई आधार मान्ने हो भने ६÷७ जनाको उजुरीमा एउटै व्यक्तिसँग पटक पटक कारोबार धेरै गरेको देखिन्छ”उहाँले भन्नु भयो ।
तमसुक नगरेको, चेक भन्दा बढी नगद कारोबार गरेको कारण यथेष्ठ प्रमाण नभएपनि ठूलो रकममा कारोबार हुन सक्ने जनाइएको छ । प्रमाण बिनाको उजुरी बढी रहेको प्रजिअ लम्सालले बताउनुभयो ।
सामाजिक प्रतिष्ठाका कारण अझै उजुरी गर्न नआएको आङ्कलन गरिएको छ । प्रजिअ लम्सालले भन्नुभयो,“उजुरी कम पर्नुको कारण सामाजिक प्रतिष्ठा पनि जोडिएको छ, फेरी समाजमा सँगै बस्ने गरेको रिसाउँछन भन्ने आवाज छ, कतिसम्म भने उजुरी दिएपछि पनि आफन्ती हो फलानो नाम हटाइदिनु न भन्दै आउने पनि छन ।”
नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा वैशाख २८ सम्म मात्र एक जनाले उजुरी दर्ता गराएका थिए । अन्य सबै एकसातामा आएका उजुरी हुन । दोस्रो पटक म्याद थपिएकोमा सोमबार र मंगलबार उजुरी आएका छैन्न ।

अनुचित लेनदेन (मिटर ब्याज) बाट पीडितहरुको छानबिनका लागि पीडितहरुको निवेदन दिन अन्तिम पटक भन्दै थप ७ दिनको समय थप गर्दै जेठ १४ गते सम्मलाई तोकिएको छ । पीडितहरुले आफ्नो भएसम्मका सवुद प्रमाण सहित भएको व्यहोरा खुलाइ अनलाइनबाट वा सिधै अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोग वा निवेदकको जिल्लामा रहेको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सक्ने छन ।

प्रतिक्रिया