मुख्यमन्त्री पाेखरेलद्वारा शपथ ग्रहण, नियुक्त गरे चार मन्त्री


रुपन्देही – लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री शङ्कर पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री पाेखरेललाई आइतवार राति प्रदेश प्रमुख धर्मनाथ यादवले पद तथा गाेपनीयताकाे शपथ ग्रहण गराएका हुन् ।

आइतवार बिहानमात्रै पाेखरेलले राजीनामा दिएका थिए । उनले संविधानको धारा १६८ (२) अन्तर्गत गठन भएको सरकार विघटन गरी धारा १६८ (१) अन्तर्गत एमालेको एकल बहुमत सरकार गठन गर्ने भन्दै राजीनामा दिएका थिए ।

प्रदेशका मुख्यमन्त्रीमा शङ्कर पोखरेलको पुनः नियुक्तिपछि विपक्षी गठबन्धनका प्रदेश सभा सदस्य आइतवार (आज) प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्ना बसे पनि सुरक्षाका बीच पाेखरेललाई शपथ ग्रहण गराइएकाे हाे ।

नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ सांसदकाे हस्ताक्षर लिँदै मुख्यमन्त्रीमा दाबी पेस गरेकाे अवस्थामा पाेखरेललाई शपथ ग्रहण गराइएकाे हाे ।

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलले चार जना मन्त्री नियुक्त गरेका छन्। नवनियुक्त मन्त्रीमा वैजनाथ चौधरी, सन्तोष पाण्डे, हरि रिजाल र विजय यादव छन्।

मुख्यमन्त्री कार्यालयका अनुसार, चौधरीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मा दिइएको छ। भौतिक पूर्वाधार मन्त्रालय पाण्डेले पाएका छन्। रिजाललाई स्वास्थ्य तथा जनसंख्यामन्त्री र यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नियुक्त गरिएको छ।

नवनियुक्त नवनियुक्त मन्त्रीले तत्काल पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।

 

प्रतिक्रिया