सीप सिकेर उद्यमी बन्न चाहान्छन् अपाङ्गता भएका व्यक्ति


मध्यबिन्दु, १७ मङ्सिर (रासस) :
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका वडा नं ५ का मधुसुदन पोख्रेललाई नसासम्बन्धी समस्या छ । उहाँ लठ्ठी र वाकरको सहायताले हिँड्डुल गर्नुहुन्छ । सोह« वर्षदेखि उहाँको साहारा लठ्ठी बनेको छ । पोख्रेललाई घरमा नै बसीबसी केही उद्यम गर्ने मन छ । त्यसका लागि स्थानीय सरकाले केही सीप सिकाउँछ की भन्ने आशामा उहाँ हुनुहुन्छ ।
गैँडाकोटकै लक्ष्मी अधिकारी पनि २७ वर्षदेखि ह्वील चियरको सहायताले हिँड्डुल गर्नुहुन्छ । अपाङ्गता भएका व्यक्तिको अवस्था हेरेर सीपमूलक तालिम दिनुपर्नेमा उहाँको जोड छ । व्यक्तिको क्षमता तथा आवश्यकताअनुसार रोजगारी दिनुपर्ने माग अपाङ्गता भएका व्यक्तिको छ ।
आफूहरुले अपाङ्गता भएका व्यक्तिको समस्या र चाहानासहितको माग राख्दा पनि सम्बन्धित निकाएले चासो नदिएको अपाङ्ग सङ्घ गैँडाकोटका अध्यक्ष कृष्ण सुवेदीले गुनासो गर्नुभयो । “हामीले पटकपटक कुरा राखेका छौँ, तर सुनुवाइ भएको छैन”, सुवेदीले भन्नुभयो, “जनप्रतिनिधि, राजनीतिक दल, सरोकारवालाले हाम्रो कुरालाई महत्व दिनुभएको पाइँदैन ।”
अपाङ्ग दिवसका दिनमात्र कार्यक्रम गर्नुभन्दा सीपमूलक तालिम पनि ल्याउनुपर्ने अपाङ्गता भएका व्यक्तिको माग छ । “गैँडाकोट नगपालिकामा छ सय ९१ जनाले अपाङ्गता परिचयपत्र पाएका छन्”, उहाँले भन्नुभयो ।
सो नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० मा अपाङ्गता भएका व्यक्तिका लागि रु सात लाख बजेट विनियोजन गरेको छ । नगरपालिकाले वार्षिकरुपमा विभिन्न कार्यक्रम गर्दै आएको नगरपालिकाको महिला बालबालिका उपशाखाका शाखा प्रमुख सीताकुमारी लामिछानेले बताउनुभयो ।
“अपाङ्गता भएका व्यक्तिलाई व्यवसाय गर्नमा सहयोग गर्ने, आवश्यकताअनुसारको सहायता सामग्री साथै परिचयपत्र वितरणलगायतका कार्यक्रम गर्दै आएका छौँ”, शाखा प्रमुख लामिछानेले भन्नुभयो, “आवश्यकमात्रामा गर्न नसके पनि उपलब्ध स्रोतसाधनबाट अपाङ्गता भएका व्यक्तिसँग सहकार्य गर्दै आएका छौँ ।”

प्रतिक्रिया