‘उद्यमशील सोच विकास’ विषयक कार्यशाला सम्पन्न


भरतपुर, चितवन,

गुरुकुल कलेजले व्यवस्थापन संकायका कक्षा ११ र १२ गरी  ४० जना विद्यार्थीहरुलाई ‘उद्यमशील सोच विकास’ शीर्षकमा एक दिने कार्यशाला सम्पन्न गरेको छ। विद्यार्थीहरुलाई किताबी ज्ञान सँगैसँगै प्रयोगात्मक सिप पनि विकास गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको गुरुकुल कलेजका दिवासत्र व्यवस्थापन संकाय कार्यक्रम संयोजक सुशील रेग्मीज्यूले जानकारी दिनु भयो।
उक्त कार्यशाला सञ्चालन गर्न स्किल ल्याबका ग्रोथ एडभाईजर तथा  ‘उद्यमशीलता’ विज्ञ प्रेम गैरेले सहजकर्ताको भुमिका निर्वाह गर्नुभएको थियो। उक्त कार्यक्रममा विद्यार्थीहरुलाई उद्यमशीलता के हो, उद्यमशील सोच भनेर के बुझिन्छ र उद्यमशीलतालाई व्यवहारिक रुपमा कसरी लैजान सकिन्छ लगायतका विषयमा जानकारी दिँदै, विद्यार्थीहरुलाई विभिन्न रचनात्मक गतिविधीमा संलग्न गराईएको थियो।
कार्यक्रममा विद्यार्थीहरुलाई ग्राहकका समस्या पहिचान गर्नको लागी ब्रेनस्टोर्मिङ् सेसन सञ्चानल गरिएको थियो भने त्यसको व्यावसायिक रुपमा समाधान गर्नकालागी विद्यार्थीहरुलाई समूह-समूहमा प्रस्तुति तयार गरि अभ्यास गराईएको थियो। सो कार्यशालामा विद्यार्थीहरुले कृषि, शिक्षा, स्वास्थ्य, सेनिटरी प्याड, जुत्ता, नवीन पोसाक, आदि विधामा आ-आफ्नो टिमबाट ब्यवसाइक सोच पनि प्रस्तुत गरेका थिए।
कार्यक्रमको समापन समारोहमा कलेजका प्राधानाध्यपक श्री टिकाराम चापागाँई ज्यूले भन्नुभयो, “आज भाईबहिनीहरुमा उद्यमशीलताको एउटा विजारोपण मात्र भएको छ। यसलाई अब मलजल गर्ने जिम्मा विद्यार्थी भाईबहिनीहरुकै हुनेछ’। उहाँले विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्न गुरुकुल कलेज सदैव तत्पर रहेको पनि जानकारी दिनुभयो।
कार्यक्रममा सहभागी विद्यार्थीले उक्त कार्यशालामा भाग लिएपश्चात सकारात्मक प्रतिक्रिया दिएका थिए र आगामी दिनमा यस्तै अन्य कार्यक्रमहरुको अपेक्षा रहेको बताएका थिए। अन्त्यमा, सबै सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरेपछी कार्यक्रम समापन भएको थियो।

प्रतिक्रिया