सरकारी कार्यालयका सेवा प्रवाह प्रभावित


मध्यविन्दु,(नवलपरासी पूर्व), २९ कात्तिक (रासस)
मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधी सभा निर्वाचनका लागि निजामती कर्मचारी खटिएपछि नवलपरासी पूर्वका प्रायः सबै कार्यालयको सेवा प्रवाह प्रभावित भएको छ । जिल्लाका अधिकांश कर्मचारी निर्वाचनका लागि खटाइएपछि करिव एक हप्ताका लागि सरकारी कार्यालयको सेवा प्रभाह प्रभावित हुने भएको हो ।
निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी सहित जिल्लामा दुई हजार चार सय १६ कर्मचारी खटाइएका छन् । निर्वाचनका लागि संघ, प्रदेश, स्थानीय तह अन्तर्गतका कर्मचारीसँगै अर्धसरकारी कार्यालयका प्रमुखहरु र शिक्षकलाई पनि खटाइएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो । जिल्लास्थित अधिकाशं कार्यालयका प्रमुख देखी खरिदार सम्मका कर्मचारीहरु निर्वाचनमा खटिएकाले अधिकांश कार्यालयको सेवा प्रवाह प्रभावित भएको उहाँले वताउनु भयो ।
“निर्वाचनमा खटिने कर्मचारीले २९ र ३० गते निर्वाचन सामाग्री वुझ्ने भएको हुदा सेवा प्रभावित हुने निश्चीत छ ,”उहाँले भन्नु भयो “निर्वाचनलाई सभ्य र व्यवस्थितरूपमा सम्पन्न गर्नुपर्ने मुख्य प्राथमिकता भएकाले सरकारी कार्यालयमा अत्यावश्यक सेवा बाहेकका सेवा प्रवाह गर्न वाध्य पारिने छैन् ।”
जिल्ला स्थित अधिकांश स्थानीय तहहरुले कत्तिक २९ देखि मंसिर ५ गते सम्म अत्यावश्यक बाहेकका अन्य सेवाहरु वन्द रहने सार्वजनिक सुचना नै जारी गरिसकेका छन् ।
निर्वाचनका लागि जिल्लामा रहेका कार्यालय प्रमुख वा अधिकृतसरहका कर्मचारीलाई मतदान अधिकृतका रूपमा जिम्मेबारी दिइएको छ भने सुब्बासरहका कर्मचारीलाई सहायक मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । सो बाहेकका कर्मचारीलाई सहायक कर्मचारीका रूपमा खटाइएको छ ।
प्रतिनिधिसभाको दुई निर्वाचन क्षेत्र रहेको नवलपरासी पूर्वमा ११३ वटा मतदान स्थल र ३०२ वटा मतदान केन्द्र रहेका छन् । निर्वाचनका लागि दुई हजार चार सय १६ कर्मचारी परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालय नवलपरासी पूर्वका प्रमुख लालप्रसाद भुसालले जानकारी दिनुभयो ।
निर्वाचन सम्पन्न गर्नका लागि यहाँ रहेका हरेक मतदान केन्द्रमा मतदान अधिकृतसहित आठ जना कर्मचारी परिचालन गरिएको छ । प्रत्येक मतदान केन्द्रमा आठ जनाका दरले कर्मचारी परिचालन गरिएको छ ।

 

प्रतिक्रिया