निजामती कर्मचारी अस्पतालले हुप्सेकोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने
निजामती कर्मचारी अस्पताल काठमाण्डौले हुप्सेकोट गाउँपालिकामा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। निजामती सेवा दिवसको अवसरमा हुप्सेकोट गाउँपालिकामा यहि भदौ १० गते देखी १२ गते सम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो । निजामती सेवा दिवस २०७९ को अवसरमा विभिन्न निकायहरु संगको सहकार्यमा आयोजित शिविर हुप्सेकोट कोभिड अस्थाइ अस्पताल वडा नम्वर १ बेलुवामा सञ्चालन हुने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा निजामती कर्मचारी अस्पतालले यस वर्षको निजामती सेवा दिवसको अवसरमा तराई र पहाडी क्षेत्रको दुई दुर्गम स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार हुप्सेकोट गाउँपालिकामा बिशेषज्ञ चिकित्सक र प्रविधि सहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको निजमती कर्मचारी अस्पतालका आर्थिक तथा प्रशासन विभाग प्रमुख कृष्ण सापकोटाले जानकारी दिनु भयो ।सिविरमा इन्टरनल मेडिसिन,गाईने एण्ड अव्स, रेडियोलोजीष्ट, अप्थाल्मोलोजिष्ट, जनरल सर्जन, कार्डियोलोजिष्ट, अर्थोपेडिक्स सर्जन, फेमिलि मेडिसिन स्पेशियालिष्ट, मेडिकल अधिकृत र एक्सरे टेक्निसियन सहितको सेवा उपलव्ध हुने जनाइएको छ । सो सिविरमा ईको मेशिन, ईसिजी मेशिन, डिआर पोर्टेबल एक्सरे सेवा सहित निःशुल्क औषधी पनि वितरण गरिने उपसचिव सापकोटाले वताउनु भयो । शिविरमा आउने सर्वसाधारणलाई निःशुल्क यातायातको समेत प्रवन्ध गरिएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले जानकारी दिनु भयो । स्वास्थ्य शिविर मार्फत गाउँपालिका भित्रका धेरै भन्दा धेरै सर्वसाधारणले लाभ लिन सक्ने गरि प्रवन्ध मिलाउने अध्यक्ष पाण्डेले वताउनु भयो ।