विश्व बजारमा घट्यो तेलको भाउ, एकै दिन १० प्रतिशतभन्दा बढीले गिरावट


काठमाडौं – विश्व बजारमा कच्चा तेलको भाउ एकै दिन १० प्रतिशतभन्दा बढीले घटेको छ । कोरोना भाइरसको नयाँ भेरियन्टबारे बढेको आशंकाको कारण शुक्रबार विश्व बजारमा ब्रेन्ट कच्चा तेलको भाउ १०.७ प्रतिशत घटेर प्रतिब्यारेल ७३.४५ डलरमा आइपुगेको छ ।

विशेष गरी युरोपेली र एसियाका केही मुलुकले नयाँ भेरियन्टबारे चासो व्यक्त गर्दै भ्रमणमा प्रतिबन्ध लगाएसँगै तेलको भाउ घट्न पुगेको हो । ओमिक्रोन नाम दिइएको नयाँ भेरियन्ट केही अफ्रिकी मुलुकमा फैलिएको छ ।

त्यस्तै शुक्रबार अमेरिकी कच्चा तेलको भाउ पनि ११.६ प्रतिशतले घटेर प्रतिब्यारेल ६९.२७ डलरमा आइपुगेको छ । सन् २०२० को अप्रिलमा विश्वव्यापी अर्थतन्त्र र भ्रमणका लगाइएको प्रतिबन्धयता पहिलो पटक तेलको भाउमा एकैदिन यति ठूलो गिरावट देखिएको हो ।

यसअघि तेलको भाउ निरन्तर बढेसँगै अमेरिका तथा विश्वभरका अन्य ठूला प्रयोगकर्ताले तेल उत्पादन मुलुकलाई उत्पादन बढाउन आग्रह गरेका थिए । केही मुलुकले आफ्नो सञ्चित कच्चा तेलको प्रयोग गर्दै तेलको आपूर्ति सहज गर्ने प्रयास गरेका थिए ।

प्रतिक्रिया