नयाँ पुस्तालाई कला, संस्कृति सिकाउँदै कावासोतीका नेवार समुदायका अगुवा


विष्णु गौडेल,मध्यविन्दु(नवलपरासी),३२ साउन,
नवलपरासी(बर्दघाट सुस्ता पूर्व)को कावासोतीका नेवार समुदायले आफ्नो परम्परागत कला संस्कृति नयाँ पुस्तालाई सिकाउन थालेका छन् । नेवार समुदायको सांस्कृतिक कला र सिप नयाँ पुस्तालाई हस्तान्तरण गर्न यहाँका नेवार अगुवाहरूले तालिम नै सञ्चालन गरेका हुन् ।

शिका नेवाः गुठी कावासोतीले आफ्नो कला संस्कृति जगेर्ना गर्ने पहलस्वरुप लाखे नाच सहित धिमे बाजा, मादल र झ्याली संरक्षण अभियान सुरु गरेको हो । संस्कृति संरक्षणका लागि बालबालिका र युवाहरूलाई लाखे नाच, धिमे बाजा, मादल र झ्याली सम्बन्धी तालिम सञ्चालन गरिएको शिका नेवाः गुठी कावासोतीका अध्यक्ष रामचन्द्र श्रेष्ठले बताउनु भयो ।
“लाखे नाच, धिमे बाजा नेवार समुदायको परम्परागत सांस्कृतिक महत्त्व सहितको कला संस्कृति हो तर नयाँ पुस्ताले आधुनिकता सँगै यो बिर्सने हुन कि भनेर संरक्षण गर्ने अभियान थालिएको हो”उहाँले भन्नु भयो ।

शिका नेवाः गुठी कावासोतीले नेवारी कला, संस्कृति र सीप संरक्षणका लागि गत वर्ष पनि ४५ दिनको धिमे बाजा प्रशिक्षण सञ्चालन गरेको थियो । गत वर्षको प्रशिक्षणले धेरै सकारात्मक प्रभाव पारे पछि यस वर्ष पनि लाखे नाच सहितको प्रशिक्षण सञ्चालन गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो ।
“गाई जात्राका लागि चाहिने धिमे बाजा, मादल , झ्याली र ढलकी नयाँ पुस्तालाई सिकाइ रहेका छौ, पुरानो पुस्ता माझ रहेको यो सिप नयाँ पुस्तामा दिन पाए निरन्तरता हुनेछ भन्ने हाम्रो आशा हो”,उहाँले भन्नु भयो,“नयाँ पुस्तालाई हाम्रो कला संस्कृति देखाउँदै गरे जीवन्त हुने ठानेका छौ ।”

नेवार समुदायको भाषा र संस्कृति काठमाडौँ उपत्यकामा संरक्षित भए पनि उपत्यका बाहिर भाषा र संस्कृति लोपोन्मुख अवस्थामा रहेको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
“युवा पुस्ताले बाजा संरक्षणमा चासो नदेखाए संस्कृति नै लोप हुनसक्ने अवस्था थियो, अहिले धेरै राम्रो काम भएको छ”,उहाँले भन्नु भयो,“युवा पुस्तामा पश्चिमी संस्कृतिको प्रभावका कारण आफ्नो संस्कृतिप्रतिको मोह घटेर गएको अवस्थामा यो उत्साह सराहनीय छ ।”

बालबालिकालाई वाद्यवादन सिप र परम्परागत नाँचहरु सिकाउँदा उनीहरूले छिटो सिक्ने हुँदा नयाँ पुस्ता मार्फत परम्परा संरक्षण अभियान थालिएको शिका नेवाः गुठीका सल्लाहकार झक नारायण श्रेष्ठले बताउनु भयो । नेवार समुदायको परम्परागत जात्राहरू गाई जात्रा, रोपाइ जात्रा र बाघ जात्रा भए पनि नवलपुरमा गाई जात्रा मात्र निकाल्ने गरिएको छ ।
“परम्परा धान्नका लागि गाई जात्रा र लाखे नाच नाच्ने गरेका छौ ,कुनै वर्ष दुई तीन वटा पनि गाईजात्रा निकालेका छौ तर यस वर्ष एक वटा मात्र गाईजात्रा निकाल्दै छौ”,उहाँले भन्नु भयो ।
‘धिमे बाजा’ नेवार समुदायमा विभिन्न चाडपर्वमा बजाउने चलन रहेको शिका नेवाः गुठीका सांस्कृतिक समूह संयोजक रोशन कुमार श्रेष्ठले बताउनु भयो । एक पुस्ताबाट अर्को पुस्तामा आफ्नो संस्कार र संस्कृति यसै गरी हस्तान्तरण गर्दै जाने लक्ष रहेको श्रेष्ठले बताउनु भयो ।
“नयाँ वर्ष, विजयादशमी, दीपावली, गाईजात्रालगायत पर्वमा यो बाजा बजाउने गरिन्छ”,उहाँले भन्नु भयो,“अघिल्लो पुस्ताबाट नयाँ पुस्तामा वैभवपूर्ण सांस्कृतिक धरोहर हस्तान्तरण हुन नसकेर संस्कृति लोप हुने अवस्थामा पुगेका बेला बाजा संरक्षणमा जुटेका हौँ ।”

नेवार समुदायमा बुवाको मुख हेर्ने, आमाको मुख हेर्ने, देगु पूजा, गुँ पुन्ही, येँया पुन्ही, चथाः, दसैँ, तिहार, म्हःपूजा, पाँहाचह्रे, योमरी पुन्हीलगायत चाडपर्वमा मौलिक बाजा बजाउने र हर्षोल्लास मनाउने चलन रहेको सिका नेवाः गुठी कावासोतीका अध्यक्ष रामचन्द्र श्रेष्ठले बताउनु भयो ।

 

प्रतिक्रिया