यातायात व्यवस्था कार्यालय नवलपुरद्वारा ३० करोड ३५ लाख भन्दा बढी राजश्व सङ्कलन


विष्णु गौडेल,मध्यविन्दु (नवलपरासी),२३ साउन
यातायात व्यवस्था कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)ले गत आर्थिक वर्षमा ३० करोड ३५ लाख ५३ हजार नौ सय ५३ रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ म नयाँ सवारी दर्ता हुने सङ्ख्या उल्लेख्य घटे पनि कार्यालयको राजश्व सङ्कलनमा भने अघिल्लो आव कै हाराहारीमा सङ्कलन भएको यातायात व्यवस्था कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रमुख मिलन बहादुर केसीले बताउनु भयो ।
“गत आव मा सवारी साधन कर सङ्कलन बापत २३ करोड ८६ लाख पाँच हजार तीन सय १३ रुपैयाँ, सवारी चालक अनुमति पत्र एवं सवारी दर्ता किताब बापत पाँच करोड छ लाख ५२ हजार नौ सय १८ रुपैयाँ, यातायात क्षेत्रको आम्दानी राजश्व शीर्षकमा ३८ लाख ४६ हजार चार सय ३० रुपैयाँ र अन्य प्रशासनिक सेवा शुल्क बापत आठ लाख दुई हजार छ सय ९० रुपैयाँ राजश्व सङ्कलन भएको छ”,उहाँले भन्नु भयो ।
गत आर्थिक वर्ष यातायात व्यवस्था कार्यालय(नवलपरासी बर्दघाट सुस्तापूर्व)मा विभिन्न प्रकृतिका एक हजार सात सय २७ वटा सवारी साधन दर्ता भएका छन् । आव ०७९/८० मा कुल सात हजार आठ सय ३८ वटा सवारी साधन दर्ता भएकोमा आ व ०८०८१ मा छ हजार एक सय ११ वटा सवारी साधन कम दर्ता भएको प्रमुख केसीले बताउनु भयो ।
“गत आवमा दुई पाङ्ग्रे सवारी साधन एक हजार चार ८९ वटा,निजी कार भ्यान २८ वटा, सरकारी मोटरसाइकल तीन वटा, निजी बस ट्रक १३ वटा, सरकारी बस पाँच वटा, सरकारी गाडी छ वटा, पिक अप दुई वटा, सार्वजनिक बस ट्रक २४ वटा, ट्र्याकटर चार वटा, भाडा ट्याम्पो ७४ वटा र निजी ट्याम्पो ७९ वटा दर्ता भएका छन्”,उहाँले भन्नु भयो ।
आ व ०७९/८० मा छ हजार छ सय ८३ वटा दुई पाङ्ग्रे सवारी साधन दर्ता भएकोमा गत आव ०८०/८१ मा जम्मा एक हजार चार सय ८९ वटा दर्ता भएको तथ्याङ्कमा देखिन्छ ।


यातायात व्यवस्था कार्यालय(नवलपरासी बर्दघाट सुस्तापूर्व)मा आव ०८०/८१ म सवारी चालक अनुमति पत्र लाइसेन्सका लागि लिखित परीक्षामा सहभागी भएका मध्य ७० दशमलव ७२ प्रतिशतले चालक अनुमति पत्र पास गरेका छन् । सवारी चालक अनुमति पत्र लाइसेन्स नयाँ एवं नवीकरण मध्य २०८० पुस १५ गते सम्मको सबै प्रिन्ट भएर आएको कार्यालय प्रमुख केसीले जानकारी दिनु भयो । गत पुस १५ गते सम्म नवीकरण एवं नयाँ लाइसेन्सका लागि योग्य भएकाको स्मार्ट लाइसेन्स प्रिन्ट भएर कार्यालय वाट वितरण गरिएको छ ।

 

प्रतिक्रिया