आठ बुँदे सहमतिलगत्तै ठाकुर र यादवबीच अर्को विवाद


काठमाडौं – केपी ओली नेतृत्वको सरकार ढाल्ने कि सरकारविरोधी गठबन्धनमा नलाग्ने भन्ने विषयमा विवाद बढ्दै गई झण्डै फुट्न लागेको जनता समाजवादी पार्टीलाई विभाजनबाट रोक्न उक्त पार्टीको अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार ८ बुँदे सहमति गरेका छन्।

तर ८ बुँदे सहमति सार्वजनिक भएलगत्तै जसपाभित्र अर्को विवाद सुरु भएको छ। ८ बुँदे सहमति गरेकै दिन मंगलबार ठाकुर पक्षले संसद् सचिवालयलाई चिठी लेखेर राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको जानकारी गराएको छ।

वैशाख ३० गते बसेको पार्टीको संसदीय दलको बैठकले महतोलाई दलको नेता चयन गर्ने निर्णय गरिएको चिठीमा उल्लेख गरिएको छ। उक्त दिन ठाकुर र महतो पक्षका सांसदहरू भक्तपुरको डोलेश्वर रिसोर्टमा जम्मा भई बैठक गरेका थिए। उक्त बैठकमा महतोलाई दलको नेता चयन गर्ने सहमति बहुमतबाट गरिएको बैठकमा सहभागी जसपाका सांसद प्रमोद साहले बताए।

यादव पक्षका नेताहरूले ठाकुर र यादवबीच भने ८ बुँदे सहमतिसँगै महतोलाई संसदीय दलको नेता चयन गरिएको विषय पनि समाप्त भएको बताएका छन्। ८ बुँदे सहमतिमा महतोलाई दलको नेता चयन गरिएको विषय उल्लेख गरिएको छैन। त्यसैले संसद् सचिवालयमा पठाएको चिठी आधिकारिक नभएको यादव पक्षधर नेताहरूको भनाइ छ।

संसद् सचिवालयमा पठाइएको चिठीमा ठाकुरले मात्र हस्ताक्षर गरको छन्। संसद् सचिवालयमा पठाइएको चिठी विधि र प्रक्रियाविपरीत रहेको यादव पक्षीय नेता इस्तियाक राईले बताए। ‘विधि, विधान र प्रक्रियाविपरीत सचिवालयमा पठाएको चिठी आधिकारिक हुन सक्दैन,’ राईले भने, ‘महतोलाई दलका नेता चयन गर्ने विषयमा कुनै सहमति भएको छैन।’ नागरिक दैनिक

प्रतिक्रिया