सवारी दुर्घटनामा घाइते भएका कावासोती १ का काफ्लेको मृत्यु 


नवलपरासी,१५ चैत
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोतीमा गत मङ्गलवार भएको सवारी दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । मङ्गलवार साँझ भएको सवारी दुर्घटनामा परी घाइते भएका कावासोती नगरपालिका १ निवासी ४० वर्षीय कल्याण काफ्लेको बाँसबारी न्युरो अस्पताल काठमाडौँमा उपचारको क्रममा निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलका अनुसार कावासोती नगरपालिका २ सयपत्री चोक स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बा ९७ प ५६८२ नं को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ३२ प २१८० नं को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुई जना घाइते भएका थिए ।
दुर्घटनामा परी बा ९७ प ५६८२ नम्बरको मोटरसाइकल चालक कावासोती नगरपालिका १ बस्ने वर्ष ४० को कल्याण काफ्ले गम्भीर घाइते भएका थिए । त्यसै गरी लु ३२ प २१८० नम्बरको मोटरसाइकल चालक कावासोती नगरपालिका २ निवासी ३९ वर्षीय टेक नारायण भुसाल पनि घाइते भई भरतपुरमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक पौडेलले बताउनु भयो ।

प्रतिक्रिया