नवलपुरमा छ हजारले एसइई दिँदै


कावासोती, नवलपुरमा यस वर्ष ६ हजारभन्दा बढी विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने भएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रुद्र शर्माका अनुसार जिल्लाका सामुदायिकतर्फ ८६ र निजीतर्फ ५३ गरी एकसय ३९ वटा माध्यमिक विद्यालयमा अध्ययनरत छ हजार एकसय ६६ विद्यार्थी परीक्षामा सहभागी हुने प्रमुख शर्माले बताउनुभयो ।

जसमा तीन हजार १३४ छात्र र तीन हजार ३२ छात्रा रहेको उहाँले बताउनुभयो । यसैगरी प्राविधिकतर्फ आठ वटा विद्यालयका १९८ र संस्कृततर्फ चार विद्यालयका ३१ ग्रेडवृद्धितर्फ ४२ जना परीक्षार्थीले एसइईमा सहभागी हुने प्रमुख शर्माले जानकारी दिनुभयो ।

चार गाउँपालिका र चार नगरपालिका रहेको जिल्लामा बौदिकाली गाउँपालिकामा र बुलिङटार गाउँपालिकामा एक–एक, विनयी त्रिवेणीमा दुई, हुप्सेकोट गाउँपालिकामा तीन, कावासोती नगरपालिकामा सात, देवचुली नगरपालिकामा पाँच, गैँडाकोट नगरपालिकामा चार र मध्यविन्दु नगरपालिकामा पाँच गरी २८ वटा विद्यालयमा एसइई सञ्चालनका लागि केन्द्र ताकिएको छ ।

गत वर्ष नवलपुरमा छ हजार पाँच सय २२ जना परीक्षार्थी एसइईमा सहभागी भएको भए पनि अहिले विद्यार्थी घटेको शिक्षा विकास तथा समन्वय इकाई नवलपुरले जनाएको छ । यस वर्षको एसइई चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुँदैछ ।

प्रतिक्रिया