हुप्सेकोट गाउँपालिकामा ७ महिनामा इन्धनमा १९ लाख, सवारी मर्मतमा १६ लाख बढी खर्च


हुप्सेकोट, २२ फागुन, नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले चालु आर्थिक वर्षको सात महिनामा इन्धनमा १९ लाख भन्दा बढी खर्च गरेको छ । साउन देखि माघ मसान्त सम्म गाउँपालिकाले इन्धन खर्च शीर्षक वाट १९ लाख १८ हजार एक सय १३ रुपैयाँ खर्च गरेको हो । इन्धनको कुल खर्च मध्य जनप्रतिनिधिहरूका लागि ८ लाख ५५ हजार सात सय ५१ रुपैयाँ खर्च भएको छ । त्यसै गरी कार्यालय प्रयोजनका लागि ६ लाख ५४ हजार पाँच सय ३७ रुपैयाँ खर्च भएको छ । हुप्सेकोट गाउँपालिकाको कर्मचारीहरूका लागि पछिल्लो सात महिनामा ४ लाख सात हजार आठ सय २५ रुपैयाँ खर्च भएको देखिएको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षका लागि इन्धन पदाधिकारी शीर्षकमा २० लाख रकम विनियोजन गरेको छ । त्यसै गरी इन्धन कार्यालय प्रयोजनका लागि शीर्षकमा १० लाख रकम विनियोजन गरेको छ । इन्धन अन्य प्रयोजन शीर्षकमा २० लाख रकम विनियोजन गरेको छ ।

सवारी मर्मतमा १६ लाख ८२ हजार छ सय ७१ रुपैयाँ खर्च
हुप्सेकोट गाउँपालिकाले चालु आर्थिक वर्षको माघ मसान्त सम्म सवारी साधन मर्मत कार्यका लागि १६ लाख ८२ हजार छ सय ७१ रुपैयाँ खर्च गरेको छ । गाउँपालिकाको जेसिभि, ट्याक्टर, स्कारपियो, बोलेरे गाडी, मोटरसाइकल लगाएका सवारी मर्मतका लागि साउन देखि माघ सम्म सो रकम खर्च भएको हो ।
गाउँपालिकामा १ वटा जेसिभि, १ वटा ट्याक्टर, १ वटा स्कारपियो गाडि, १ वटा वोलेरो, १९ वटा मोटरसाइकल र २ वटा स्कुटर रहेका छन् । चालु आर्थिक वर्षका लागि गाउँपालिकाले सवारी साधन मर्मत खर्च शीर्षकमा २५ लाख रकम विनियोजन गरेको छ ।

दैनिक भ्रमण भत्तामा २ लाख ७७ हजार ८ सय ३८ रुपैयाँ खर्च
हुप्सेकोट गाउँपालिकाले दैनिक भ्रमण भत्ता खर्च शीर्षकमा चालु आर्थिक वर्षको माघ महिना सम्म २ लाख ७७ हजार ८ सय ३८ रुपैयाँ खर्च गरेको छ । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको दैनिक भ्रमण भत्ता बापत सो रकम निकासा भएको हो ।

चालु खर्च ४१.९३ प्रतिशत र पुँजिगत खर्च २५.७९ प्रतिशत खर्च
हुप्सेकोट गाउँपालिकामा माघ मसान्त सम्म कुल बजेटको ३७.७३ प्रतिशत खर्च भएको छ । जस मध्य गाउँपालिकाको चालु खर्च शीर्षकहरू मध्य वाट १५ करोड ५० लाख ५० हजार बजेट खर्च भएको छ । यो खर्च प्रतिशतमा हिसाब गर्दा ४१.९३ प्रतिशत हुन आउँछ । त्यसै गरी पुँजिगत खर्च शीर्षकहरू मध्य वाट ४ करोड ४० लाख २ हजार रुपैयाँ बजेट खर्च भएको छ । यो खर्च प्रतिशतमा हिसाब गर्दा २५.७९ प्रतिशत हुन आउँछ ।

प्रतिक्रिया