भूकम्प प्रभावित क्षेत्रका लागि मध्यविन्दु नगरपालिकाले दुई लाख सहयोग गर्ने
मध्यविन्दु (नवलपरासी) , १८ कात्तिक,
जाजरकोट केन्द्रबिन्दु भएर शुक्रवार राति गएको भूकम्पमा परि प्रभावित भएकाहरूको लागि नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले दुई लाख सहयोग गर्ने भएको छ । मध्यविन्दु नगरपालिकाका प्रमुख भिमलाल अधिकारीले एक विज्ञप्ति जारी गर्दै नगरपालिकाको तर्फबाट पहिलो चरणमा भूकम्पका पीडितहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि तत्काल दुई लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको हो ।
‘जाजरकोट केन्द्रबिन्दु भएर शुक्रवार राति गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको खबरले अत्यन्त दुखित बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति सम्पूर्ण मध्यविन्दु नगर वासीको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्दछौ ।’
विज्ञप्तिमा भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली, शोकाकुल परिवारजनमा समवेदना र घाइतेको शीघ्रस्वास्थ्य लाभको कामना व्यक्त गरिएको छ ।
भूकम्पबाट प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न, भूकम्पमा परी बेपत्ताको खोज तथा उद्धार, घाइतेको उपचार तथा राहतमा सक्रियताका साथ लाग्न पनि सम्बन्धीत सबैमा विज्ञप्ति मार्फत अपिल गरिएको छ ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या १३६ पुगेको छ भने ३५० भन्दा धेरै घाइते भएका छन् ।