केबलकार मार्फत एक महिनामै २६ हजारले मौलाकाली मन्दिरको दर्शन गरे


गैडाकोट,जेठ ३२-

जेठ महिनामा मौलाकाली केबलकार मार्फत २६ हजार भक्तजनहरुले मौलाकाली मन्दिरको दर्शन गरेका छन् । मौलाकाली केबलकार प्रालिका अनुसार जेठ १ गतेदेखि ३२ गतेसम्म (आजसम्म) २६ हजारले मौलाकाली केबलकार चढेका हुन् ।मौलाकाली केबलकार प्रालिका म्यानेजर सुरज पौडेलका अनुसार केबलकार मार्फत दैनिक ८०० जनाले यात्रा गरेका छन् । नयाँ वर्षको अवसरमा बैशाख १ गतेदेखि सुरु गरिएको मौलाकाली केबलकारमा दैनिक जस्तो दर्शनार्थीहरुको उपस्थिति बढ्दो क्रममा रहेको उहाँले बताउनुभयो ।

विहान ६ वजेदेखि सञ्चालन हुँदै आएको मौलाकाली केबलकारले साँझ ६ बजेसम्म सेवा दिदै आएको छ । बैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेसँगै मौलाकाली केबलकार औपचारिक रुपमा सञ्चालनमा आएको हो ।यो केबलकार एक हजार दुई सय मिटर लम्बाइको छ। यहाँ कुल १४ डब्बा छन्। एउटा डब्बामा एकपटकमा आठ जना यात्रु बस्न मिल्छ। फेदीबाट केबलकार चढेपछि पाँच मिनेटमा मन्दिर नजिकैको स्टेसनमा पुगिन्छ। त्यहाँबाट करिब ५ मिनेट हिँडेपछि मौलाकालिका मन्दिर पुगिन्छ।

केबलकारमा दुइतर्फी मूल्य (आउन र जान) रु ५५० कायम गरिएको छ । केबलकारले ३ देखि ४ फिटसम्मका बच्चाबच्चीहरुको लागि रु ३३०, विद्यार्थीहरुको लागि रु ४१५ ज्येष्ठ नागरिकहरुको लागि रु ४१५ र फरक क्षमता भएकाहरुको (अपाङ्ग) लागि रु २७५ को टिकट दर रहेको छ । मौलाकाली केबलकारले ८० वर्षमाथिका बृद्धबृद्धा र ३ फिटभन्दा तलका बच्चाबच्चीहरुको लागि निःशुल्क सेवा दिएको छ ।

मौलाकाली केबलकारको टिकट प्राप्त गर्नका लागि सर्वसाधारण यात्रुहरुले मोबाइल एप्लीकेशनमा आईएमइ पे डाउनलोड गरि सोहि एप मार्फत टिकट काट्न सक्नेछन् भने केबलकारको कार्यालय तथा आइएमई पेका आधिकारिक एजेन्टहरु मार्फत समेत टिकट प्राप्त गर्नसक्नेछन् ।

प्रतिक्रिया