चितवनमा खडेरीले मकै सुक्यो, घाँसको रुपमा गाईबस्तुलाई दिँदै किसान


चितवन, जेठ २७-

चितवनमा खडेरीले मकै सुकेपछि किसान चिन्तित बनेका छन् ।निरन्तरको खडेरी र बढ्दो तापक्रमले मकैका बोट सुक्न थालेपछि किसानहरु चिन्तामा पर्न थालेका हुन् ।

सुकेको मकैका बोट काटेर किसानले गाई, भैँसीलाई घाँसको रुपमा दिन थालेका छन् । भरतपुर महानगरपालिका–८ गौरीगञ्जका नविन पुरीले १३ गठ्ठा जग्गाको मकै पूरै सुकेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘घोगा लाग्ने बेलामा मकैका बोट सुक्यो । मकैमा गरिएको मल, बीउ र खनजोतको लगानी खेर गयो ।’

त्यसैगरी भरतपुर महानगरपालिका–११ बसेनीकी जलपादेवी घिमिरेले सात गठ्ठा जग्गामा मकै लगाएकी थिइन् । सबै मकै सुक्न थालेपछि उनले घाँसको रुपमा मकैका बोट काटेर गाईलाई दिन थालेकी छन् । सबै परिवार कृषिमा आश्रित ७८ वर्षीय जलपादेवी मकै डढ्न थालेपछि चिन्तित बनेकी छन् । सोही ठाउँकी तारादेवी भण्डारीको पनि चार गठ्ठाको मकै सुकेको छ । पाइप लगाएर अलीअली पानी हाल्दाहाल्दै घामले मकै सुकेको उनले बताइन् । उनले भनिन्, ‘ मकैका बोट सुकेपछि काटेर गाईलाई दिन थालेको छु । चाख्नसमेत नपाइने भयो मकै । मल, बीउ र मेहनत त्यसै खेर गयो ।’

कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी मिनबहादुर पुनले प्राकृतिक कारणले मकै यस्तो भएकोले केही रोकथाम गर्ने उपाय नै नभएको बताए । उनले भने, ‘ सिँचाइको सुविधा भएको ठाउँ बाहेक अन्य ठाउँको मकै जोगाउन कठिन छ ।’ उनले सरकारी अनुदानमा बोरिङको सुविधा भएको ठाउँको मकै मात्र केही जोगिन सक्ने भए पनि अन्यत्रको मकै पूरै सुकेको बताए ।

चितवनमा केही वर्ष अगाडिको तथ्यांक अनुसार २६ हजार बढी हेक्टर क्षेत्रफलमा मकैखेती गरिन्छ । सो क्षेत्रफलमा ९८ हजार बढी मेट्रिक टन मकै उत्पादन हुँदै आएको देखिन्छ । उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ७९ मेट्रिक टन रहेको छ ।

मकै घोगा लगाउने सिजनमै खडेरीले मकै सुकेपछि अहिले किसानहरु समस्यामा परेका हुन् । चितवनमा प्रायः तीन सिजन मकैको खेती हुन्छ । वैशाख जेठमा गरिने मकै खेती साउन भदौमा पाक्छ । यसलाई वर्षे मकै भनिन्छ । चितवनमा यो मकै नौ हजार ८०० हेक्टर बढीमा खेती गरिन्छ । यस्तै असोज कार्तिकमा लगाइने हिउँदे मकै चितवनमा १४ हजार ६०० हेक्टरमा खेती हुन्छ । यो मकै फागुन चैतमा पाक्छ ।
माघ फागुनमा लगाइने ‘बसन्ते’ मकै चितवनमा १४ हजार ६०० हेक्टरमा खेती हुने गर्छ । यो मकै जेठ असारमा पाक्छ । चितवनमा वार्षिक ९४ हजार ८० मेट्रिक टन मकै उत्पादन हुने गर्छ । जसमध्ये ‘बसन्ते’ मकै उत्पादन हुने मात्रा १६ हजार मेट्रिक टन हो ।

प्रतिक्रिया