मौलाकालिकामा केवलकार सञ्चालनसँगै बढे पर्यटक


बैशाख १७-

पूर्वी नवलपरासीको धार्मिक क्षेत्र मौलाकालिकामा केवलकार सञ्चालनसँगै धार्मिक पर्यटकको चहलपहल बढेको छ। मौलाकालिका केवलकार वैशाख १ गतेदेखि सञ्चालनमा आइसकेको छ। गैंडाकोट–१ स्थित ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल मौलाकालिका केवलकार सञ्चालनसँगै मन्दिरको थप धार्मिक महत्व बढ्ने र धार्मिक पर्यटक वृद्धि हुने अपेक्षा मन्दिर व्यवस्थापनले गरेको छ।नयाँ वर्षयता विगतको तुलनामा धार्मिक पर्यटकहरुको आगमन वृद्धि भएको मन्दिर व्यवस्थापनको भनाइ छ। मौलाकालिका मन्दिर व्यवस्थापक छवि खनालले मौलाकालिका केवलकार निर्माणले मन्दिरको धार्मिक महत्वलाई बढावा दिएको बताए।

उनले मौलाकालिका केवलकार सञ्चालनले चितवन,नवलपरासी र तनहुँ मात्रै नभइ नजिकका आन्तरिक र विदेशी पर्यटक आवागमनमा समेत वृद्धि हुने अपेक्षा रहेको बताए। उनले मौलाकालिका मन्दिरको छुट्टै धार्मिक महत्व रहेको भन्दै यसलाई पवित्रस्थल देवघाट धामसँग जोड्न आवश्यक रहेको बताए। केवलकार सञ्चालनमा आएसँगै मन्दिर दर्शन तथा मनोरञ्जनको लागि आउने आन्तरिक तथा बाह्य पर्यटक वृद्धि भएको उनको भनाइ छ।

त्यस्तै, मौलाकालिका मन्दिरका पुजारी नेरेन्द्रप्रसाद भट्टराईले मौलाकालिका मन्दिरको पौराणिक र धार्मिक महत्व रहेको बताए। उनले मौलाकालिका केवकार सञ्चालनले मन्दिरको धार्मिक महत्वलाई बढाउने विश्वास व्यक्त गरे। होटलसहितको मौलाकालिका केवलकार झण्डै एक अर्ब ५० करोड रूपैयाँ लागतमा बनेको छ। केबलकार आयोजनामा ५१ प्रतिशत शेयर मुख्य लगानीकर्ता आइएमइ समूह र बाँकी ४९ प्रतिशत लगानी स्थानीयको रहको छ। केवलकारले स्थानीयसहित करिब चार सय व्यक्तिलाई रोजगारी दिने कम्पनीको भनाइ छ।

प्रतिक्रिया