देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली


काठमाडाैं – देशभरको मौसम पूर्णरुपमा खुल्न अझै केही दिन लाग्ने भएको छ । पश्चिमी न्यूनचापीय प्रणाली, दक्षिण भू-भाग नजिक विकसित भएको न्यूनचापीय क्षेत्र तथा बङ्गालको खाडीको जलवाष्पयुक्त हावाको प्रभाव देखिएकाले मौसम बद्ली भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अझै तीन दिन मौसम पूर्णरुपमा नखुल्ने महाशाखाले जनाएकाे छ ।

अहिले देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली रहेको छ । अहिले प्रदेश एक, दुई र वाग्मती बाहेक अरु प्रदेशका थोरै ठाउँमा पानी परिरहेको महाशाखाले जनाएको छ । चितवनसहित पश्चिममा बादल लागेको छ । त्यस्तै काठमाडाैं उपत्यकामा पनि अहिले बादल लागेको छ ।

दिउँसोपख  उपत्यकामा पानी पर्न सक्ने सम्भावना छ । त्यस्तै आज बेलुका र राति प्रदेश एक, दुई तथा बाँकी प्रदेशका पहाडी ठाउँमा मौसम सामान्यदेखि पूर्ण बद्ली हुने र अरु ठाउँमा आंशिक बद्ली रहने महाशाखाले जनाएको छ ।

केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम तथा प्रदेश एक र गण्डकीका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया