अन्तर्राष्ट्रिय उडान बन्दः भारतबाट हुने बबल, चार्टर्ड र उद्धार उडान सञ्चालन गरिने


काठमाडाैं – गएरातिदेखि अन्तर्राष्ट्रिय उडान बन्द भएका छन् । कोरोना भाइरसको महामारी बढेपछि सरकारले गएरातिदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको हो । तर भारतबाट भने बबल सम्झौताका आधारमा हप्तामा दुई वटा उडान हुनेछन् ।

दुई देशका नागरिक र कूटनीतिक नियोगका कर्मचारीलाई मात्रै बोक्न पाउने उडानलाई बबल उडान भनिन्छ । हवाई उडानबाट नेपाल आउने भारतीय नागरिकले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी १० दिन अनिवार्य होटेल क्वरेण्टीनमा बस्नुपर्नेछ ।

मन्त्रिपरिषद्को वैशाख १९ गतेको बैठकले कोरोना रोकथामका लागि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान स्थगन गर्ने निर्णय गरेको थियो । आन्तरिक उडान २० गतेदेखि नै बन्द भएका छन् ।

नियमित उडान बन्द भए पनि चार्टर्ड तथा उद्धार उडान सञ्चालन हुने नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले जनाएको छ । चार्टर्ड र उद्धार अन्तर्राष्ट्रिय उडानबाट आउने/जाने यात्रुहरूको बारकोड र फोटोसहितको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ ।

महामारीकै कारण यसअघि २०७६ सालको चैत १० गतेदेखि बन्द भएका अन्तर्राष्ट्रिय उडान २०७७ सालको भदौ १६ गतेदेखि सञ्चालनमा आएका थिए ।

प्रतिक्रिया