खुट्टाकै साहाराले लेखेर साहित्यकार बन्ने सपना


मध्यविन्दु ,नवलपरासी पूर्व, ८ असोज (रासस),
नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ जुल्पेटारका यम खाम्चा जन्मजात नै अपाङ्ग भएर जन्मनु भयो । उहां बोल्न र हातको सहायताले केहि पनि गर्न सक्नुहुन्न । तर खुट्टाको सहयोगमा अन्य काम गर्नु हुन्छ । साहित्यकार झमक घिमिरेको झल्को दिने खाम्चालाई रहर पनि उहां जस्तै साहित्यकार बन्ने छ । २५ वर्षिय यम खाम्चा बोल्न र हातले लेख्न नसके पनि स्मरण शक्ति निकै राम्रो छ, मनोबल पनि कुनै साङ्ग मानिसको भन्दा कम छैन । उहाले खुट्टाको सहायताले लेख्ने, सामाजिक सञ्जाल चलाउने, गर्नुहुन्छ ।


बुवा मन बहादुर खाम्चा भन्नुहुन्छ “कुपोषणका कारण शरिरका अंगहरुले राम्रोसंग काम नगरेको चिकित्सकले बताएपछि उहालाई निको बनाउने परिवारको आशा निराशामा परिणत भयो ।”


अन्य मानिस जस्तै बोल्न र हिड्न नसकेपनि खाम्चाको सपना भने निकै ठूलो छ । मुस्किलले चलेका दुई खुट्टाको सहायताले १२ कक्षा पास गर्नुभएको यमलाई अब उच्च शिक्षा हासिल गर्ने मन छ । सन्तानको सपना पुरा गराउन परिवार संघर्षशिल छन तर अब घरको आर्थिक अवस्था कमजोर भएको हुदा कसरी पढाउने भन्ने चिन्ताले सताएको बुवा मन बहादुर बताउनु हुन्छ । बुवा भन्नुहुन्छ “छोराले एसइई परीक्षा पास गरेपछि पढाइएको लागि भनेर रामपुर नगरपालिका वडा नम्बर १ बर्दाकोट पाल्पा बाट दुई वर्ष अघि हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ मा बसाईसरी आएको हो ।”


यमलाई भविष्यमा साहित्यकार बन्ने रहर छ । अनि त्यो सपना पुरा गर्ने ठुलो अविलासा लिएर अगाडि बढेनुभएका उहाले अहिलेसम्म ४ सय ४६ वटा मुक्तक खुट्टाकै साहाराले लेखिसक्नु भएको छ । अब रहर छ, त्यसलार्य फुल्बुट्टा भरेर सार्वजनिक गर्ने । तर अवस्था सोचे जस्तो भने छैन । उहाँ परिवारको ४ सन्तान मध्येका माईलो छोरा हुनुहुन्छ । ८ वर्ष सम्म ओछ्यानमा विताउनुभएको उहाले आफ्ना आवाजहरु अरुसामु पुर्याएको देख्दा आमा योगमायां खाच्चा निकै खुसी हुनुहुन्छ । आमा योगमाया भन्नुहुन्छ “मलाई विस्तारै बुढौलीले छुदैछ, ६१ वर्षको भए, घरमा छोराको रेखदेख गर्दा नै दिन वित्छ । जतिवेला पनि पढ्छु, पढ्छु मात्रै भन्छ तर कसरी पढाउने । ” छोराको भविष्य सम्झिदै आखाको डिलका आशुँ पुछ्दै भन्नुभयो “ अगाडि हासे पनि,उसको बढ्दो उमेर संगै सपना र भविष्यको चिन्ताले सधै सताउछ । उसलाई केहि व्यवस्था मिलाएर मर्न पाए हुथ्यो जस्तो लाग्छ । म नभए त रेखदेख गर्ने मान्छे नै हुदैनन ।”

 

प्रतिक्रिया