मध्यविन्दु नगरपालिकामा नागरिक सेवा केन्द्र वाट नै हुने छ सवै काम , सेवाग्राहीलाई आराम
नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिकाले सेवाग्राहीको लागि नागरिक सेवाकेन्द्रको सुरूवात गरेको छ । बिहीबार नगरपालिकाले नागरिक सेवाकेन्द्र सुरु गर्दै सेवाग्राहीहरुको लागि भुईँतल्लाबाट सेवा दिने व्यवस्था गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारिले भन्नुभयो ‘ नगरपालिका आउँदा फाइल बोकेर कोठाकोठा, झ्याल झ्याल धाउनु पर्दैन । नगरपालिकाको सार्वजनिक सेवा प्रवाहलाई सहज, छिटो, छरितो,पारदर्शी र नागरिकमैत्री बनाउन हामीले एकीकृत सेवा सुरु गरेका हौं ।’
सेवाग्राहीले नगरपालिकाको भुइँ तल्लामा रहेको नागरिक सेवा केन्द्र आएर आफ्नो फाइल बुझाएपछि सबै फाँटमा जानुपर्ने काम कर्मचारीले नै गर्ने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव खनालले जानकारि दिनु भयो । प्रमुख प्रशासकिय अधिकृत खनालले भन्नु भयो ‘सेवाग्राही आएर कर्मचारीलाई फाइल दिएपछि आरामले वस्नु हुने छ , यो फाँट त्यो फाँट केहि भन्नुपर्दैन सबै कर्मचारीले नै गर्छन । केहि समस्या भए सम्बन्धित कर्मचारीले सम्पर्क गर्नेछन् । नत्र काम सकाएर फाइल आउँछ ।’यसरी सेवा प्रवाह गर्दा सेवाग्राहीलाई सहज र सरल हुने खनालले वताउनु भयो । यसको लागि नगरपालिका मै रहेका कर्मचारीहरुबाट नै सेवा प्रदान हुने जनाइएको छ ।नागरिक सेवा केन्द्रमा सेवाग्राहीकालागि आरमगर्ने स्थान, फोटोकपी सेवा, पिनउे पानी , निशुल्क नेट सुविधा , मोबाइल चार्ज गर्ने सुविधा , टेलिभिजनको व्यवस्था गरिएको छ ।
नागरिक सेवा केन्द्रको उद्घाटन गर्दै सांसद तिलक महतले सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले यसको स्थापना गरिकोमा नगरपालिका परिवारलाई शुभकामना दिनुभयो । कतिपय कार्यालयबाट सेवा लिन सेवाग्राहीले निक्कै झन्झट सहनुपर्ने देखिएको बताउँदै सबै कार्यालयलाई सेवाग्राही मैत्री बनाउँदै लैजानुपर्ने उहाँले बताउनुभयो । राम्रो कार्यको सबैले अनुसरण गर्दै नागरिकलाई सहज रुपमा सेवा प्रदान गर्ने विषयमा लाग्नुपर्ने उहाँले बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले नागरिकले सहज तरिकाबाट गुणस्तरीय सेवा पाउनुपर्ने बताउनुभयो । यसका लागि सरकारले प्रतिवद्धता व्यक्त गरेको भएपनि बिभिद समस्याले गर्दा सबैले यसरी कार्य गर्न नसकेको बताउँदै मध्यविन्दु नगरपालिकाबाट यो कार्य सुरु भएकोमा सबैका लागि सन्देश हुने बताउनुभयो । नागरिक सेवा केन्द्रले सेवा प्राप्त गर्दै कसैलाई विभेद हुदैन र पारदर्शिता कायम राख्न समेत सहयोग पुग्ने उहाँले बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले हरेक सेवाग्राही नागरिक सेवा केन्द्रमा आएर आफ्नो काम बसेरै पुरा गर्न सक्ने बताउनुभयो । सेवाकेन्द्रमा फाइल छाडेपछि आवश्यक कागजात पुरा भए नभएको हेरि पुरा भएको भए सेवा केन्द्रकै कर्मचारीले सबैकाम आफै गरिदिने बताउनुभयो । यो एकद्वार माध्यमबाट नागरिकले लिन खोजेको सेवा प्राप्त गर्ने उहाँले बताउनुभयो । यसको दिगो व्यवस्थापन गर्दै सेवाग्राहीलाई सहज रुपमा सेवा दिने विषयमा आफूहरू संवेदनशिल रहेको प्रमुख प्रशासकीय अधिकृत खनालले बताउनुभयो ।