आज ज्येष्ठ नागरिक दिवसः देशभरका ज्येष्ठ नागरिकलाई टेलिकमको निःशुल्क सिमकार्ड


काठमाडाैं – आज अक्टोबर १ अर्थात्, अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखलाई ज्येष्ठ नागरिक सम्मान र अधिकारमा पहुँच पुर्याउने उद्देश्यका साथ संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वभर यो दिवस मनाउने गरिन्छ ।

नेपालमा पनि गएको डेढ दशकदेखि यो दिवस मनाउन थालिएको हो । सरकारले यस वर्षको ज्येष्ठ नागरिक दिवसको नारा ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ भन्ने तय गरेको छ । सरकारको तर्फबाट २०५१ सालमा मासिक एक सय रूपैयाँबाट सुरु गरिएको ज्येष्ठ नागरिक भत्ता अहिले चार हजार रुपैयाँ पुर्याइएको छ।

यस्तै ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरी सार्वजनिक गाडीमा ज्येष्ठ नागरिकका लागि सिट आरक्षण तथा ५० प्रतिशत भाडा छुट दिने व्यवस्था गरिएको छ । यस्तै सार्वजनिक ठाउँमा सेवा लिँदा लाइन बस्न नपर्न र सरकारी अस्पतालमा ज्येष्ठ नागरिकको उपचार गर्दा औषधिउपचारमा सहुलियत दिने व्यवस्था पनि छ । तर ज्येष्ठ नागरिकले कतिपय सेवा सुविधा नपाएको गुनासो गर्दै आएका छन् ।

यसैबीच नेपाल टेलिकमले आजदेखि आउँदो २५ गतेसम्म ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क सिमकार्ड दिने भएको छ । संयुक्त राष्ट्रसङ्घको आयोजनामा विश्वव्यापी रुपमा अक्टोबर १ मा मनाइने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा नेपाल टेलिकमले देशभरका ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप निःशुल्क सिम प्रदान गर्ने भएको हो ।

सिम असोज १५ गतेदेखि २५ गतेसम्म ६० वर्षभन्दा माथिका नागरिकलाई निःशुल्क रुपमा प्रदान गरिनेछ । यस सिममा १० रुपैयाँ ब्यालेन्स हुनुका साथै ४० मिनेट कुराकानी गर्ने, २० वटा सन्देश पठाउने र ६० एमबी डाटा प्रयोग गर्न सकिने सुविधा एक महिनासम्म उपलब्ध हुनेछ ।

प्रतिक्रिया