डुबान प्रभावित विनयी त्रिवेणीको बगुवन राहतको पर्खाइमा 


विष्णु गौडेल, दुम्कीवास, १७ असोज , 
गत असोज ११ र १२ गतेको अविरल वर्षाले नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका-१ वगुवन र सिसेनी क्षेत्रका एक सय २२ घर डुबानमा परेका छन् ।
नारायणी नदी बस्तीमा पस्दा वगुवन र सिसेनी क्षेत्र पूर्ण रूपमा डुबानमा परेको थियो । डुबान वाट मानवीय क्षति नभए पनि घर, विद्यालय, धान खेती मा ठुलो क्षति भएको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर-१ का वडा अध्यक्ष दिपक पौडेलले बताउनु भयो ।
“बगुवन र सिसेनीका एक सय २२ घर डुबानमा पर्दा घर भित्रको खाद्यान्न, लत्ता कपडा, अन्य सामाग्री पूर्ण रूपमा भिजेको पाएका छौ भने पाक्न लागेको धान बाली डुबानले नष्ट भएको छ”,उहाँले भन्नु भयो,“मानवीय र पशु चौपायामा क्षति नभए पनि भौतिक र कृषि वालिमा धेरै क्षेती भएको छ ।”
डुबान प्रभावित घर परिवारलाई विनयी त्रिवेणी गाउँपालिका १ को समन्वयमा राहत सङ्कलन गरी वितरण गरिएको छ । वडा स्तरीय विपद् व्यवस्थापन समितिको बैठक बसी तत्काल अत्यावसेक राहत वितरण गर्ने निर्णय बमोजिम स्थानीय समाजसेवी सँग सङ्कलन गरी राहत वितरण गरिएको वडा अध्यक्ष पौडेलले जानकारी दिनु भयो ।
विनयी त्रिवेणी गाउँपालिका कार्यालय र वडा नम्बर १ को समन्वयमा खाद्यान्न, त्रिपाल सहितका सामाग्री वितरण गरिएको वडा अध्यक्ष पौडेलले बताउनु भयो । केही दिनका लागि अत्यावसेक खाद्यान्न वितरण गरिए पनि अव बाकी दिनका लागि कसरी व्यवस्थापन गर्ने चुनौती रहेको उहाँले बताउनु भयो । यस क्षेत्रमा करिब एक सय बिघा क्षेत्रमा लगाइएको धान खेती डुबानमा परेको छ ।
“घर भित्र रहेको सबै खाद्यान्न भिजेकाले ठुलो चुनौती देखिन्छ , खेतमा रहेको धान बाली पनि डुबानले असर गरेको हुँदा यहाँका डुबान प्रभावितका लागि विशेष राहत प्याकेजको व्यवस्था गर्नु तत्काल आवश्यक देखिन्छ”,उहाँले भन्नु भयो,“अहिले सम्म स्थानीय स्तर वाट गर्न सकिने सहयोग गरेका छौ अव अन्य सहयोगी हातहरूको पनि आवश्यकता परेको छ ।”
डुबान प्रभावित क्षेत्रमा स्वास्थ्य संवेदनशीलता ख्याल गरी स्वास्थ्य परीक्षण शिविर समेत सञ्चालन गरिएको छ । स्थानीयमा कुनै प्रकारको स्वास्थ्य समस्या नहोस् भन्नका लागि स्वास्थ्य परीक्षण र आवश्यक औषधी वितरण गरिएको वडा अध्यक्ष पौडेलले बताउनु भयो ।
विनयी त्रिवेणी गाउँपालिकामा गत असोज ११ र १२ गतेको वर्षाले बगुवन र सिसेनी क्षेत्रमा पुर्‍याएको क्षतिको आकलन गरी गाउँपालिकाको तर्फ वाट राहत घोषणा गर्ने तयारी गरिएको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनु भयो । बगुवन क्षेत्रमा बर्सेनि नारायणी नदी डुबानले समस्या पार्ने गरेकोमा यस वर्ष ठुलो क्षति भएको गाउँपालिका अध्यक्ष गिरीले बताउनु भयो । डुबान प्रभावितका लागि अहिले सम्म स्थानीय स्तर वाट गर्न सकिने सहयोग गरिएको भए पनि बाह्य सहयोग प्राप्त नभएको उहाँले जानकारी दिनु भयो ।
“गाउँपालिका भित्रको  समग्र क्षतिलाई मूल्याङ्कन गरी सक्दो राहत दिने तयार गरेका छौ”,उहाँले भन्नु भयो,“धान बालीमा धेरै क्षति भएकाले यसको असर आगामी वर्ष सम्म पनि रहने भयो ।”
डुबानका कारण विद्यालय पूर्ण रूपमा बन्द 
डुबानका कारण बगुवनमा रहेको लक्ष्मी आधारभूत विद्यालय पूर्ण रूपमा बन्द भएको छ । विद्यालयमा लेदो माटो पसेकाले विद्यालयको शैक्षिक गतिविधि पूर्ण रूपमा बन्द भएको वडा अध्यक्ष दिपक पौडेलले बताउनु भयो ।
सामान्य वर्षामा पनि विद्यालय भित्र पानी पस्ने गरेकोमा यस वर्ष विद्यालयको छानो समेत ढाक्ने गरी डुबान भएकाले विद्यालय दसैँ पछि मात्र सञ्चालन गर्न सकिने अवस्था रहेको विनयी त्रिवेणी गाउँपालिका शिक्षा शाखा प्रमुख भूपराज पाण्डेले बताउनु भयो ।
विद्यालयमा परीक्षा सञ्चालन भइरहेको अवस्थामा वर्षाले विद्यालय डुबानमा परेपछि बिचमा नै अवरुद्ध भएको उहाँले जानकारी दिनु भयो । कक्षा आठ सम्म पढाइ हुने विद्यालयमा दुई सय विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालय भित्रका कम्प्युटर, पाठ्यपुस्तक, कागजपत्र सबै डुबानमा परेका कारण विद्यालयमा भएको यकिन क्षति निकाल्न बाकी रहेको शिक्षा शाखा प्रमुख पाण्डेले बताउनु भयो ।

प्रतिक्रिया