जनसहभागिता विनाका कुनै पनि योजना सफल हुन सक्दैन ः मुख्यमन्त्री पाण्डे


मध्यविन्दु (नवलपरासी), १ असोज
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले जनसहभागिता विनाका कुनै पनि योजना सफल हुन नसक्ने बताउनु भएको छ । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–११ मा सरसफाइ प्रवर्द्धन तथा जैविक मल उत्पादन केन्द्रको समुद्घाटन गर्नु हुँदै मुख्य मन्त्री पाण्डेले सरकारको मात्र लगानीले योजनाहरू सफल नहुने बताउनु भएको हो ।
“आम जनताको सहभागिता विना कुनै पनि मुलुक सफल हुन सक्दै, त्यसैले जनचासो र जनसहभागिता हरेक क्षेत्रमा आवश्यक छ”,उहाँले भन्नु भयो,“सङ्घ,प्रदेश र स्थानीय सरकारले गर्न खोजेका कार्यक्रममा जनताको सकारात्मक साथ र चासो भए मात्र कामहरू सफल हुने देखिन्छ ।”

कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले अहिले समाजमा अहिलेको व्यवस्था र सरकार प्रति भ्रम छर्ने काम भएको बताउँदै सकारात्मक कामहरूको जनता समक्ष सही सूचना दिनु आवश्यक रहेको बताउनु भयो । जनतामा नकारात्मक भाव पैदा गर्ने काम धेरै भएको देखिएकाले भए गरेका कामको पनि जानकारी जनताले लिनु आवश्यक रहेको मुख्यमन्त्री पाण्डेको भनाइ छ ।
“देशमा नभएको होइन, धेरै भएको छ । त्यसलाई जनता समक्ष पुर्याउदा नकारात्मक भावना छर्ने काम भएको छ, त्यस्ता कुराले मुलुकको दूर भविष्यलाई पनि असर पार्दछ”,उहाँले भन्नु भयो,“केही भएन होइन कि भएका के छन् र गर्नु पर्ने के हो , यसमा मेसो सहभागिता के हो भन्ने सोच जनतामा पनि हुनु आवश्यक छ ।”

गण्डकी प्रदेशले प्रत्येक आर्थिक वर्षमा नवप्रवर्द्धन कार्यक्रम मार्फत प्रदेश भित्रका स्थानीय सरकार सँग साझेदारीमा नवीनतम कार्य गर्दै आएको मुख्य मन्त्री पाण्डेले जानकारी दिनु भयो । चालु आर्थिक वर्षमा पनि १८ वटा स्थानीय सरकार सँग साझेदारी गर्ने गरी मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम छनौट भएको उहाँले बताउनु भयो ।
“अहिले हरेक कुरा सरकारले गरिदिनु पर्छ भन्ने सोच विकास भएको छ तर सरकारले मात्र होइन सरकारले ल्याएको कार्यक्रममा जनताको पनि अहम् भूमिका हुन्छ”,उहाँले भन्नु भयो,“सफल नभएका काम किन भएन त्यसलाई कसरी सफल बनाउने, हाम्रो जिम्मेवारी के छ , कसरी गर्न सकिन्छ भनेर नागरिकले पनि सोचिदिनुस् ।”

प्रतिक्रिया