नेपालको सेयर कारोबारमा विश्वकै धेरै ब्रोकर कमिसन, साउनबाट घटाउन लगानीकर्ताको माग


– अहिले औसतमा ० दशमलव ३३ प्रतिशत ब्रोकर कमिसन तिर्नुपर्छ, त्यस आधारमा ब्रोकरहरूको दैनिक कमाइ दुई करोडमाथि

– संसारका धेरै देशमा ब्रोकर कमिसन नै तिर्नुपर्दैन तिर्नुपर्ने ठाउँमा पनि अत्यन्तै न्यून

काठमाडाैं – गत पुसमा करिब ३३ प्रतिशतले ब्रोकर कमिसन घटाइएको भए पनि सेयर बजारमा लागेका ठूला व्यवसायी तथा लगानीकर्ताले साउनबाट पुनः ब्रोकर कमिसन घटाउन जोड दिएका छन् । ‘कारोबारको आकार बढ्दै जाँदा कमिसन पनि घट्नुपर्छ नै, त्यसैले कम्तीमा पनि साउनबाट यो दर घटाउनुपर्छ,’ एक ठूला लगानीकर्ताले भने ।

पहिले बजारमा कम संख्यामा सूचीकृत कम्पनीहरू रहेको र दैनिक औसत कारोबार पनि करोडभन्दा कम हुने गरेकाले ब्रोकरलाई धेरै कमिसनको व्यवस्था गरिएकाले अब भने घटाउनुपर्नेमा उनको जोड छ । ‘नियामक वा सरकारले नियम ल्याउँदा आफ्नो विवेकले बनाउने हो, ब्रोकरसँग सहमति लिने होइन,’ उनले भने ।

गत एक वर्षमा सेयर बजारमा दैनिक औसत ४ अर्बभन्दा धेरै रकमको कारोबार भएको छ । यसबीचमा २ सय १५ दिन बजारमा कारोबार भएकोमा १५ दिन मात्रै दैनिक १ अर्बभन्दा कम रकमको सेयर कारोबार भएको छ । दैनिक औसत कारोबार रकमका आधारमा औसत ब्रोकर कमिसन ०.३३ प्रतिशतका आधारमा पनि अहिले ब्रोकरहरूले दैनिक २ करोड ३६ लाख कमाइ गरिरहेका छन् । यसमा ५० ब्रोकरलाई समान हिस्सेदारी लगाउँदा दैनिक एउटैको कमाइ करिब ५ लाख रुपैयाँ हुन थालेको छ ।

पछिल्लो समय अनलाइन कारोबारको संख्या बढेसँगै ब्रोकरहरू कारोबारको माध्यम मात्र बनेका छन् । यसले ब्रोकरहरूको खर्चमा समेत कटौती भएकाले ब्रोकर कमिसन घटाउनुपर्ने लगानीकर्ताले माग गरेका हुन् । नयाँ पत्रिका

प्रतिक्रिया