आज मातातीर्थ औंसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै


काठमाडाैं – आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरि मनाइँदैछ ।

वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहानै नुहाएर आफ्नी आमालाई वस्त्रादि उपहार दिने र मीठामीठा खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।

आमा नभएकाहरु भने आमाको श्राद्ध गरी दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

यसो गरेमा मातृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद्हरु बताउँछन् । शास्त्रमा आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि ठूली मानिएको छ ।

धर्मशास्त्रविद्का अनुसार पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान रहेको छ ।

आजको दिन दिवङ्गत आमाको सम्झनामा थानकोट नजीकैको मातातीर्थमा मेला लाग्छ । आमा नहुने नरनारी आज बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्छन् ।

औँसीलाई पितृको तिथि मानिन्छ । त्यसै अनुसार वैशाख कृष्ण औँशीमा आमाको मुख हेर्ने र भदौ कृष्ण औँसीमा बाबुको मुख हेर्ने पर्वका रुपमा मनाउने चलन छ ।

कसरी शुरु भयो यो पर्व ?

जनश्रुति अनुसार, पहिले मातातीर्थमा गोठालाहरूले गाई–बस्तुहरू चराउने मैदान थियो । एक दिन त्यो मैदानमा एउटा गोठालाले फ्याँकेको रोटीको टुक्रा अनाचक हराउन पुग्यो । त्यो घटनाले गोठालाहरू अचम्मित भए ।

अरू गोठालाले पनि रोटीका टुक्रा फ्याँके, तीनमध्ये आमा जीवित हुनेले फ्याँकेका रोटी त्यहीँ रही आमा नहुनेले फ्याँकेका रोटी मात्र अलप भए । कथानुसार पहिलो चोटि रोटी फ्याँक्नेकी आमा पनि थिइनन् । त्यो दिन वैशाख कृष्णपक्षको औँसी थियो । दोस्रो दिन भने अघिल्लो दिनको जस्तो रोटी हराएन ।

सो कुरा चाल पाई गाउँलेले औँसीको दिन मृत आमा त्यस ठाउँमा आई आफ्ना छोराछोरीले श्रद्धापूर्वक दिएको चिज खाँदा रहेछन् भन्ने विश्वास गरेर त्यस ठाउँमा कुण्ड बनाई मातातीर्थ नामकरण गरियो ।

यसरी हरेक वर्ष आजकै दिन आमा नहुनेले त्यहाँ गई कुण्डमा नुहाएर मीठामीठा खाद्यपदार्थ चढाई मातृ दिवस मनाउन थाले र मातातीर्थ मेला लाग्न थाल्यो ।

त्यसैले विभिन्न धर्मशास्त्रमा आमालाई पहिला सम्झिइएको छ । ‘मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव ।’ आमाको महत्वलाई जनाउने संस्कृतको एउटा श्लोक ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी ’ निकै प्रचलित छ ।

प्रतिक्रिया