मध्यविन्दु बहुमुखी क्याम्पसमा खानेपानीको मिटर जडान नै नगरी पानी प्रयोग


नवलपरासी(बर्दघा सुस्तापूर्व)को कावासोतीमा रहेको मध्यविन्दु बहुमुखी क्याम्पसले स्थापनाकालदेखि हालसम्म खानेपानीको मिटर जडान नै नगरी पानी प्रयोग गरेको पाइएको छ।
सामाजिक सञ्जालमा कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र क्याम्पसको मिलेमतोमा विना मिटर धारा जडान गरिएको भन्दै खानेपानी उपभोक्ता संस्थाको चर्काे आलोचना भएको थियो।
आलोचनापछि संस्थाले बिहीबार क्याम्पसको खानेपानी लाईन काटेर नियमअनुसार मिटर जडान गर्न क्याम्पसलाई पत्राचार गरेको थियो । संस्थाले विहीबार क्याम्पसलाई पत्र लेखी क्याम्पसले खानेपानीको ग्राहक नम्बर २१०१४५९ को धारावाट विना मिटर पानी प्रयोग भएको पाइएकोले धाराको सेवा वन्द गरिएको जानकारी गराएको थियो ।
धारामा मिटर जडान नगरेको भनेर संस्थाले क्याम्पसलाई धाराको रिकनेक्सन शुल्क ५ हजार रुपैया र मिटर शुल्क १ हजार तीन सय ५० रुपैया सहित कार्यालयमा हाजिर हुन पत्राचार गरेको र सोही अनुसार क्याम्पसले रकम तिरेर पुनःधारा जडान गरिएको संस्थाका अध्यक्ष दिपकराज लम्सालले बताउनुभयो।
क्याम्पसले कहिलेदेखि धारा जोडेको हो भन्ने जानकारी आफुलाई नभएको अध्यक्ष लम्सालले बताउनुभयो। संस्थाले २०७५ सालबाट सफ्टवयेर मार्फत काम गरेकोले त्यो भन्दा अगाडिको म्यानुअल डाटाहरु नभएकोले कहिले धारा कहिले जोडिएको हो भनेर भन्न नसकेको लम्सालले बताउनुभयो। क्याम्पसले अहिलेसम्म उक्त ग्राहक नम्वरको धारको वील वापत मासिक न्यूनतम शुल्क रु.१२० बुझाउदै आएको थियो ।
२०६३ सालमा स्थापना भएको क्याम्पसले एकवर्ष जीवनज्योति मा.वि.मा कक्षा सञ्चालन गरेको र २०६४ बाट अहिलेको स्थानमा कक्षा सञ्चालन गरेको जानकारहरुले बताएका छन् । यसरी क्याम्पसले करिव १६ वर्ष देखि विना मिटरको धाराबाट पानी प्रयोग गरेको पाइएको छ ।
राजनैतिक शक्तिको दुरुपयोग गर्दै क्याम्पसले कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थासंगको मिलेमतोमा धाराको मिटर जडान नगरी पानी प्रयोग गरेर लाखौ रुपैया संस्थालाई नोक्सान पुर्याएको नेपाली काँग्रेस कावासोती नगर समितिका सचिव झपेन्द्र काफ्लेले बताउनुभयो । त्यही प्रकृतिका संस्थाहरुले खानेपानी महशुल बापत बार्षिक सरदर ५० हजार शुल्क तिर्दै आएको पाइएको छ ।
क्याम्पसले विना मिटरको धारा कहिले जोडेको भन्नेमा आफुलाई केही जानकारी नभएको क्याम्पस प्रमुख गणेशमान गिरीले बताउनुभयो । शैक्षिक संस्थामा भवन निर्माणलाई सहज होस् भनेर विना मिटर धारा जोडेको होला मलाई पुरै थाहा भएन, म भर्खरै मात्र प्रमुख भएको हो गिरीले भन्नुभयो।
त्यसै गरी कावासोती वडा नं. ३ स्थित जनविकास विद्याश्रम आधारभूत विद्यालयले पनि हालसम्म विनामिटरको धारावाट खानेपानी प्रयोग गर्दै आएको पाइएकाले विद्यालयलाई पत्राचार गरिएको संस्थाका अध्यक्ष लम्सालले बताउनुभयो । केही संस्थाहरुले कसरी मिटरनै जडान नगरी धारा पाए भन्ने विषयमा छानविन भइरहेको पनि लम्सालले बताउनुभयो ।

प्रतिक्रिया