१९ सांसदसहित १६० जनामा कोरोना संक्रमण, बैसाख २७ को संसद वैठक प्रभावित


काठमाडौं – संसद सचिवालयले गराएको कोभिड–१९ परीक्षणमा १९ सांसदसहित १६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वैशाख २२ देखि २४ गतेसम्म गरिएको एक हजार २३५ जनाको परीक्षणमा प्रतिनिधिसभाका १८ र राष्ट्रिय सभाका एक सांसदसहित १६० जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै अहिलेसम्म २६ जना सांसदलाई कोरोना संक्रमण भएको छ । यसअघि नै आठ सांसदलाई कोरोना संक्रमण देखिएको थियो । त्यस बाहेक १४१ जना संसद सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, पत्रकार र वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीमा संक्रमण देखिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २७ गते संसदमा विश्वासको मत लिने कार्यसूची छ । विश्वासको मतकै लागि संसद बैठक बोलाइएको छ । त्यसैका लागि सचिवालयले पीसीआर परीक्षण गराएको हो । कोरोना संक्रमित सांसदहरु आगामी २७ गते बस्ने संसद बैठकमा सहभागी हुने नहुनेबारे अन्यौल सिर्जना भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने २७ वैशाखको मिति नजिकिदै जाँदा संक्रमित सांसदहरूका बारेमा निर्णय हुन नसक्दा अन्यौल बढेको हो । संसद सचिवालयका अनुसार संक्रमित सांसदहरुलाई कसरी सहभागी गराउने भन्ने विषय छलफल भइरहे पनि निर्णय नभएको जनाएकाे छ।

प्रतिक्रिया