जुकरबर्गले फेसबुक कम्पनीकाे नाम फेर्दै राखे ‘मेटा’


काठमाडौं – सामाजिक सञ्जाल फेसबुकले आफ्नो नाम परिवर्तन गरेको छ । फेसबुकको परिवर्तन गरिएको नाम ‘मेटा’ राखिएको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुकको नाम परिवर्तन गरेर मेटा राखिएको घोषणा गरेका हुन् । लामो समयदेखि फेसबुकले नाम परिवर्तन गर्नेबारे चर्चा चलिरहेको थियो ।

फेसबुकका संस्थापक जुकरबर्गले आफ्नो सामाजिक सञ्जाललाई दोस्रो पटक ब्राण्डिङ गर्न चाहेको बताएका छन् । कम्पनीले फेसबुकको नयाँ नाम परिवर्तन गरेसँगै रोजगारीको नयाँ अवसर पनि खोल्ने जनाएको छ । युवा प्रयोगकर्ताहरुको मानसिक स्वास्थ्यमै असर पारेको आरोप लागिरहेका बेला फेसबुकले आफ्नो कम्पनी नाम बदलेको हो ।

पछिल्लो समय आफ्नै पूर्व कर्मचारीले अमेरिकी संसदमा फेसबुकका गोप्य तथ्यहरुको खुलासा गरिदिएसँगै फेसबुक दबाबमा परेको छ । साथै फेसबुकले आफूलाई केवल सोसल मिडिया भन्दा व्यापक भएको कम्पनीको रुपमा चिनाउन चाहेको जनाएको छ । फेसबुकले पछिल्लो समय स्मार्ट चस्मा लगायतका कन्जुमर हार्डवेयर उत्पादन सुरु गरिसकेको छ र यसका लागि १० हजारभन्दा धेरै कर्मचारी खटाइसकेको छ ।

प्रतिक्रिया