दल फुटाउने अध्यादेश आउनै लाग्दा ओलीले डाके लगातार दुई बैठक


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज (मंगलबार) लगातार स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको निवास (बालकोट) मा सोमबार रातिसम्म बसेको शीर्ष नेताहरूको अनौपचारिक बैठकले स्थायी कमिटी र संसदीय दलका बैठक मंगलबार राख्ने निर्णय गरेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् ।

उनका अनुसार स्थायी कमिटीको बैठक अहिले बिहान ११ बजे ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवन तथा संसदीय दलको बैठक दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा बस्ने छन् ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित सत्ता गठबन्धनले दल विभाजनसम्बन्धी अध्यादेशको मस्यौदा तयार पारिसकेको परिप्रेक्ष्यमा एमालेले एकै दिन आज दुईटा बैठक राख्न लागेको हो । सरकारले केही दिनभित्रै ल्याउन लागेको अध्यादेशको मस्यौदाअनुसार पार्टी फुटाएर नयाँ दल खोल्न केन्द्रीय कमिटी वा संसदीय दलमध्ये एउटामा एकचौथाइ अर्थात् २५ प्रतिशत संख्या भए पुग्छ ।

प्रतिक्रिया