अर्थमन्त्री शर्माले आज ‘अर्थतन्त्रको यथार्थ पत्र’ सार्वजनिक गर्दै

के हो यथार्थ पत्र !


काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले आज (मंगलबार) देशको ‘अर्थतन्त्रको यथार्थ पत्र’ सार्वजनिक गर्ने भएका छन्। अर्थमन्त्री शर्माले आज देशको आर्थिक स्थितिबारे जानकारी गराउन प्रतिनिधि सभामा यथार्थ पत्र सार्वजनिक गर्ने उनको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री शर्माले हिजो नै प्रधानमन्त्री शेरबहादुर देउवालाई यथार्थ पत्रको विषयमा जानकारी गराएका थिए । सामान्यतः नयाँ सरकार आउँदा सरकारले वा कुनै मन्त्रीले वर्तमान स्थितिका विषयमा जानकारी दिन श्वेतपत्र सार्वजनिक गर्ने चलन छ । त्यही अनुसार अर्थमन्त्रीले यथार्थ पत्रका रूपमा श्वेतपत्र सार्वजनिक गर्ने तयारी गरेका हुन्।

अर्थतन्त्रको बृहत्तर परिसूचकको अवस्था तथा चुनौतीलाई समेटेर ‘वर्तमान आर्थिक अवस्थाको जानकारीपत्र’ तयार गरिएको अर्थमन्त्रीको सचिवालय स्रोतले जानकारी दियो । ‘केपी ओली नेतृत्वको अघिल्लो सरकार बन्नुभन्दा अघिको आर्थिक अवस्था र अहिलेको अवस्था, कोभिडबाट अर्थतन्त्रमा परेको प्रभावलगायत विषयलाई समेटेर यथार्थ विवरण तयार पारिएको छ,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने, ‘यसमा अहिलेको अवस्था र चुनौतीलाई देखाइएको छ, थोरै निष्कर्षसहित अबको बाटो के–कस्तो हुने भनेर पनि उल्लेख गरिएको छ ।’

‘अर्थमन्त्रीले यसलाई श्वेतपत्र नभनेर यथार्थपत्र भन्नुभएको छ, यो सरकारले टेक ओभर गर्दा, काम सुरु गर्दा मुलुकको आर्थिक अवस्था के थियो भन्ने मोटामोटी जानकारी दिने हो,’ उनले भने, ‘मुलुकमा कोरोनाले के–कस्तो असर पारेको छ, कहाँ–कहाँ कमजोरीहरू भए, के–कति क्षति पुग्यो, अझै के–कस्ता चुनौती छन् भन्नेलगायत विषय पनि यस यथार्थपत्रमा समेटिएका छन् ।’

प्रतिक्रिया