सरकारले अङ्ग्रेजी च्यानल ‘एनटिभी वर्ल्ड’ सञ्चालन गर्ने


काठमाडौं – सरकारले अङ्ग्रेजी च्यानल ‘एन टिभी वर्ल्ड’ सञ्चालन गर्ने भएको छ । शनिबार प्रस्तुत बजेटमा महत्वका साथ नेपाल टेलिभिजनबाट उक्त च्यानल सुरु गर्ने घोषणा भएको हो ।

नेपाली टेलिभिजन प्रशारणको इतिहासमा उक्त च्यानलले अन्तर्राष्ट्रिय जगतमा नेपाल बुझ्ने गरी सामग्रीहरु प्रस्तुत गर्ने पहिलो कदमका रुपमा लिइएको छ ।

जुन च्यानलले नेपाल टेलिभिजनको प्रशारणलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने छ । च्यानल सञ्चालनका लागि सरकारले आवश्यक बजेटसमेत विनियोजन गरेको छ । ‘नेपाल टेलिभिजनको प्रशारणलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन एन टिभी वर्ल्ड च्यानल सञ्चालनमा ल्याइनेछ’, नेपाल सरकारद्वारा प्रस्तुत बजेटमा भनिएको छ ।

अन्तर्राष्ट्रिय समुदायसँग नेपालको सिधै पहुँच नभएकाले छिट्टै सञ्चालन हुने ‘एन टिभी वर्ल्ड’ सहज माध्यम बन्ने विश्वास लिइएको छ । आफ्नै सञ्चार पहुँच नहुँदा नेपालबारे बेला बेलामा उत्पन्न हुने भ्रमले देशको पर्यटन क्षेत्रलाई समेत प्रभावित तुल्याएको छ ।

‘समृद्ध नेपालः सुखी नेपालीको सन्देश अन्तर्राष्ट्रिय समुदायमा अहिलेसम्म पुग्ने माध्यम छैन । नेपाली टेलिभिजनको इतिहासमा एन टिभी वर्ल्ड च्यानलमार्फत पहिलोपटक अन्तर्राष्ट्रिय समुदायसँग पहुँच पुग्नेछ’ नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले भने ।

सञ्चारको संसार भन्ने मान्यतासहित सूचना र सञ्चार प्रविधिको अधिकतम उपयोग गर्ने नीतिअनुसार सरकार अघि बढेको प्रवक्ता गुरुङले बताए । त्यस्तै नेपालमा पहिलो पल्ट प्रेस संग्रहालय बन्ने भएको छ ।

नेपाली प्रेस र पत्रकारिता सम्बन्धि विभिन्न कालखण्डमा भएका प्रविधिका विकासलाई जीवन्त राख्न प्रेस संग्रहालय स्थापना गरिने भएको हो । सरकारी निकायबाट प्रदान गरिने विज्ञापनमा सबै प्रकारका सञ्चारमाध्यमको पहुँच पुग्ने व्यवस्था गरिएको बजेटमा घोषणा गरिएको छ । जसबाट छापा, विद्युतीय टेलिभिजन, रेडियो, अनलाइन सबै पर्ने छन् ।

प्रतिक्रिया