गण्डकीको मुख्यमन्त्रीमा पाण्डे नियुक्त


जेठ १६ गते । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुनुभएको छ । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले पाण्डेलाई बुधबार दिउँसो मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

सर्वाेच्च अदालतले सोमबार पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । पाण्डेले बुधबारै सपथ लिने तयारी भएको छ । दोस्रो आम निर्वाचनपछि गण्डकी प्रदेशमा बुधबार चौथो सरकार बनेको हो ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री बन्नुभएका एमाले संसदीय दलका नेता खगराज अधिकारीले पाएको विश्वास मत अवैधानिक ठहर भएपछि उपधारा ३ अनुसार पाण्डे नेतृत्वमा सरकार बनेको छ । गण्डकीमा नेपाली कांग्रेस २७ सिटसहित सबैभन्दा ठुलो दल हो । ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ सांसदको समर्थन चाहिन्छ ।

स्वतन्त्र सांसद राजीव गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई सांसदले समर्थन गरे पनि पाण्डेको पक्षमा ३० मतमात्र जुट्ने अवस्था छ । सरकारमा राप्रपाको पनि समर्थन जुटाउने र राप्रपाबाट पनि मन्त्री नियुक्त गर्ने प्रयास भए पनि बुधबार राप्रपा सरकारमा सहभागी नहुने भएको छ । राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङले सरकारमा जाने वा नजाने र मन्त्रीबारे निर्णय पार्टी केन्द्रले गर्ने बताउनुभयो ।

पाण्डे दोस्रो पटक मुख्यमन्त्री बन्नुभएको हो । यसअघि केन्द्रमा सत्ता समीकरण फेरिएपछि मुख्यमन्त्रीबाट पाण्डेले चैत २१ गते राजीनामा दिनुभएको थियो । त्यसपछि मुख्यमन्त्री नियुक्त हुनुभएका एमाले संसदीय दलका नेता अधिकारी सर्वाेच्चको परमादेशबाट पदमुक्त बन्नुभएको थियो ।

पाण्डेले ३० दिनभित्र अर्थात असार १३ गतेभित्रै विश्वासको मत लिनैपर्छ । त्यसअघि नयाँ बन्ने सरकारलाई आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता, नीति तथा कार्यक्रम ल्याउनैपर्ने वाध्यता छ । पाण्डे सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट पारित हुने अवस्था छैन ।

प्रतिक्रिया