संरक्षणको अभावमा कावासोतीको ऐतिहासिक टरुवा ताल


कावासोती, चैत २६ गते । नवलपुरको कावासोतीस्थित ऐतिहासिक टरुवा ताल जलकुम्भी झारले ढाकेर सङ्कटमा पर्न थालेको छ । कावासोती ७ र ८ मा फैलिएको सो तालको संरक्षण हुन नसक्दा अस्तित्व नै सङ्कटमा पर्न थालेको हो ।

पूर्व पश्चिम राजमार्गदेखि करिब एक किलोमिटरको दूरीमा रहेको टरुवा ताल तीन दशमलव ५२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । टरुवा ताललाई झारले नढाकेको क्षेत्र निकै थोरै बाँकी छ । पानीको सतह देखिनुपर्ने ताल जलकुम्भी झारले ढाकेर हरियो देखिन थालेको छ । प्रारम्भकालमा पानी उपयोग गर्ने ठाउँ अहिले संरक्षणको अभावले सङ्कटमा पर्दा ताल मासिएर जानेमा स्थानीय चिन्तित भएका छन् ।

स्थानीय तीर्थ महत्तोले टरुवा ताल क्षेत्रमा पानीको अटुट मुहान रहेकाले सुरु सुरुमा सोही क्षेत्रबाट कावासोती बजार क्षेत्रमा पानीको आपूर्ति हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कावासोती बजार विकास हुनुपूर्व अन्य पानीको कुनै स्रोत नभएकोले मेरा बाजे बराजुले यहिँ टरुवाको पानी पिउने गर्नुहुन्थ्यो । अटुट मुहान रहेकाले पिउनका लागि र सिँचाइका लागि टरुवा तालको पानी प्रयोग हुने गरेको थियो ।” तर पछि केरुङले खोला, कोइलापनी क्षेत्रको मुहानबाट पानी ल्याउने योजना सञ्चालन भएपछि पानीका लागि तालसँग कावासोती बजारको निर्भरता हटेको हो । यस अर्थमा समेत महत्व बोकेको ताल हिजोआज आफैँ सङ्कटमा परेको छ । यसको सरसफाइ र संरक्षणमा कसैको ध्यान पुग्न सकेको छैन।

तालको सफाइ गरेर संरक्षणका लागि र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न केही समयअघि योजना अघि बढेको थियो । कहिलेकाहीँ स्थानीयस्तरमा सरसफाइ गरे पनि बृहत् रुपमा तालको सफाइमा काम हुन नसकेको स्थानीय भोजराज गुरौले बताउनुहुन्छ । संरक्षणका लागि बजेट विनियोजन भयो तर काम नहुँदा बजेट फ्रिज भएको उहाँको भनाइ छ।

ताललाई जलकुम्भी झारले ढाकेपछि यसको सरसफाइका लागि वडास्तरबाट काम गर्ने योजना रहेको कावासोती–७, का वडाअध्यक्ष गोविन्दप्रसाद महतोले बताउनुभयो । कावासोती नगरपालिकाले टरुवा तालको संरक्षण र यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न यस वर्ष रु ५० लाख विनियोजन गरेको वडाअध्यक्ष महतोले बताउनुभयो ।

नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोले तालको संरक्षण गर्दै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सके जिल्लाकै महत्वपूर्ण स्थलका रुपमा परिचित हुने बताउनुभयो । ताल आफैँमा महत्वपूर्ण रहेकाले यसको संरक्षणसँगै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न पहल भइरहेकाले सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया