नवलपुरका ७ मतदान स्थल पुनरावलोकन
नवलपरासी पूर्व नवलपुरमा रहेका ७ वटा मतदान स्थल पुनरावलोकनका लागि सिफारिस गरिएको छ । जिल्ला निर्वाचन कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रमुख लालप्रसाद भुसालका अनुसार तीन वटा पालिका भित्रका ७ वटा मतदान स्थल पुनरावलोकनका लागि सिफारिस गरिएको छ ।
मतदान स्थल साँघुरो भएका, पायक पर्ने स्थानमा नभएकाहरूको स्थल पुनरावलोकन गरिएको कार्यालय प्रमुख भुसालले बताउनुभयो । स्थान पुनरावलोकन गर्दा सम्बधीत वडाका पायक पर्ने र मतदानका लागि सहज हुने स्थानहरु छनौट गरि नयाँ स्थान छनौट गरिएको जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख भुसालले बताउनुभयो । ‘स्थान पुनारावलोकन गर्दा सबैलाई पायक पर्ने, सुरक्षित र मतदान संचालन गर्न सहज हुने ठाउँ छनौट गरेका छौ’ कार्यालय प्रमुख भुसालले भन्नुभयो–सोही आधारमा हामिले निर्वाचन आयोगमा सिफारीस गरेका छौं ।
गैँडाकोटका ४ , विनयी त्रिवेणीका २ र हुप्सेकोटको एक मतदान स्थल पुनरावलोकनका लागि सिफारिस गरिएको छ । गैंडाकोट नगरपालिका अन्र्तगत वडा नम्बर २ मा रहेको महेन्द्र स्मारक आधारभुत विद्यालय शिवनाथ चोकबाट एसपिएम कलेज एसपिएमा टोलमा , वडा नम्बर ३ मा रहेको कृष्णगण्डकी आधारभूत विद्यालयबाट वडा नम्बर तीनको कार्यालय ढोडेनी, वडा नम्बर ११ गणेश आधारभूत विद्यालय भेडाबारीबाट मुकुन्दपुर खानेपानी आयोजना भेडाबारी र गैंडाकोट १३ को मुकुन्दपुर पुरानो गाविस भवनबाट जनशक्ति आधारभूत विद्यालय वेल्डीयामा मतदान स्थल सार्ने गरि पुनरावलोकनका लागि निर्वाचन आयोगमा सिफारिस गरिएको छ ।
विनयी त्रिवेणी गाउँपालिका अन्र्तगत वडा नम्बर ४ वेणीमणीपुर मैजाटोलबाट दिपेन्द्र मावि सर्दीमा र वडा नम्बर ५ को पुरानो धुरकोट गाविसको भवन देउरालीबाट भानुदय मावि चुकाहामा सार्ने गरि सिफारिस गरिएको छ ।
यसै गरि हुप्सेकोट गाउँपालिका ४ को भवनबाट ज्वाला मावि झ्यालबासमा मतदान स्थल कायम रहने गरि जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले पुनरावलोकनका लागि सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भुसालले बताउनुभयो ।
मतदान स्थल र मतदान केन्द्रको संख्या भने यथावत रहेको उहाँले बताउनुभयो । हाल नयाँ मतदान स्थल थप गर्ने र केन्द्रको संख्या बढाउनुपर्ने आवश्यकता नदेखिएको कार्यालय प्रुमख भुसालले बताउनुभयो । नवलपुरमा १ सय १३ मतदान स्थल र २ सय ९९ मतदान केन्द्र रहेका छन् ।