अमेरिकाले पाँच वर्षमाथिका बालबालिकाका लागि फाइजर खोपलाई दियो पूर्ण स्वीकृति


काठमाडौं – अमेरिकाले ५ वर्षदेखि ११ सम्मका बालबालिकाको लागि फाइजर / बायोटेक खोपलाई स्वीकृति दिएको छ । यसले दशौं लाख अमेरिकी बालबालिकालाई खोप लगाउने बाटो खोलिदिएको छ । अमेरिकाको औषधि नियामकहरू सावधानीपूर्वक विचार गरेपछि सेन्टर्स अफ डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)का निर्देशक रोसेल वोलेन्स्कीले यो निर्णय गरेका हुन् ।

अमेरिकाले १२ वर्ष भन्दा माथिकालाई पहिलेदेखि नै खोप दिइरहेको छ । यो स्वीकृतिले झण्डै २ करोड ८० लाख अमेरिकी बालबालिकालाई प्रभाव पार्नेछ । सामान्य जनजीवनमा फर्कन बालबालिकालाई खोप लगाउनुपर्ने विज्ञहरूको मत छ । सीडीसी र फुड ड्रग एडमिनिस्ट्रेसनमा विज्ञहरूले कोभिड १९ विरुद्ध बालबालिकालाई दिइने खोपको जोखिम र फाइदाको बारेमा लेखाजोखा गरेपछि यो अनुमति दिइएको हो ।

एफडीएका अधिकारीहरूले बालबालिकालाई कोभिडबाट बचाउन खोप झण्डै ९१ प्रतिशत प्रभावकारी भएको र यसले उनीहरूको प्रतिरक्षा क्षमता १६ देखि २५ वर्षका मानिसको जति देखिएको निश्चित गरेका थिए । यस्तै, अनुसन्धानकर्ताहरूले यसको कुनै गम्भीर साइड इफेक्ट फेला पारेनन् । अमेरिकी राष्ट्रपति जो बाइडनले एक विज्ञप्तीमा बालबालिकाको खोपले उनीहरूको अभिभावकको तनाव अन्त्य गर्ने र बालबालिकाले अरुमा भाइरस फैलाउन कम गर्ने बताएका छन् । बीबीसी

प्रतिक्रिया