नवलपुर जिल्लाको एउटै वडामा भेटिए २७ जना क्षयरोगका नयाँ बिरामी


विष्णु गौडेल, मध्यविन्दु (नवलपरासी), १७ जेठ,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को बुलिङटार गाउँपालिकामा गरिएको स्वास्थ्य परीक्षण शिविरमा एउटै वडामा २७ जना क्षयरोगका नयाँ बिरामी पहिचान भएका छन् ।

गाउँपालिकाको वडा नम्बर ४ को तीन स्थानमा पोटेवल एक्स–रे मेसिन प्रयोग गरी छातीको परीक्षण गरिएका आठ सय ६३ जना मध्य २७ जनामा क्षयरोग पहिचान भएको बुलिङटार गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अशोक श्रेष्ठले बताउनु भयो । “बुलिङटार गाउँपालिका वडा नम्बर ४ को बोझा पोखरी, अर्खला र सिंचान गरी तीन स्थानमा परीक्षण शिविर सञ्चालन गरिएको थियो ”,उहाँले भन्नु भयो,“शिविरमा चार सय ८५ जना महिला र तीन सय ७८ जना पुरुष गरी जम्मा आठ सय ६३ जनाको छातीको एक्स–रे गरिएको थियो ।”


क्षयरोग पहिचान भएका मध्य १६ जना महिला र ११ जना पुरुष रहेका छन् । जसमध्ये एक जना १४ वर्षको बालक, एक जना १९ दिनको सुत्केरी महिला रहेका छन् । एउटै वडामा यति उच्च सङ्ख्यामा क्षयरोगी भेटिएको नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा नै पहिलो रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका क्षयरोग स्रोत व्यक्ति डिल्लीराम तिवारीले बताउनु भयो । “शिविरमा परीक्षण गरिएका मध्य क्षयरोगको शङ्का लागेका थप ४० जनाको जिन एक्सपर्ट विधिबाट खकार परीक्षणका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा ल्याइएको छ”,उहाँले भन्नु भयो,“गाउँमा पुरुषको सङ्ख्या कम रहेकाले महिला क्षयरोगी धेरै भेटियो , यसको आधारमा गाउँमा क्षयरोगको सङ्क्रमण दर उच्च रहेको अनुमान गर्न सकिन्छ ।”

बुलिङटार गाउँपालिकामा गत आर्थिक वर्षमा जम्मा ३१ जना क्षयरोगी पहिचान भएका थिए । चालु आर्थिक वर्षको वैशाख मसान्त सम्म २० जना पहिचान भएकोमा अहिले थपिएका २७ जना गरी ४७ जनाले औषधी सेवन गरिरहेका छन् ।
“बुलिङटार गाउँपालिकाको एउटै वडाको तथ्याङ्कले जिल्लामा क्षयरोगको अवस्था विपन्न, दलित र ग्रामीण बस्तीमा धेरै फैलिएको सङ्केत गर्दछ”, तिवारीले भन्नु भयो ,“ जिल्ला स्वास्थ्य कार्यालय सँग स्रोत साधनको अभाव छ , अव सबै स्थानीय सरकारले वडा वडामा रोग पहिचान शिविर राख्नु पर्ने अत्यावश्यक देखिन्छ । ”
जिल्ला स्वास्थ्य कार्यालय नवलपुर र बुलिङटार गाउँपालिकाको समन्वय तथा जापान नेपाल हेल्थ एन्ड टिबी रिसर्च एसोसिएसन(जन्त्र)को प्राविधिक सहयोगमा परीक्षण शिविर सञ्चालन गरिएको थियो ।

नेपालमा २०७५÷७६ मा गरिएको प्रिभ्यालेन्स सर्वेको तथ्याङ्क अनुसार प्रतिलाखा जनसङ्ख्यामा दुई सय ४५ जना क्षयरोगी रहेको प्रतिवेदन सार्वजनिक गरिएको थियो । नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा चालु आर्थिक वर्षको माघ मसान्त सम्म दुई सय ८४ जना नयाँ क्षयरोगी भेटिएका थिए । अहिले त्यो तथ्याङ्क बढेर पाँच सय बढी भई सकेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख शैलेन्द्र कुमार सिङले जानकारी दिनु भयो ।

प्रतिक्रिया