बिजुली काटिँदा उपभोक्ता आक्रोशित


बोमलाल गिरी,नवलपुर, जेठ १७ गते । नवलपुर सदरमुकाम कावासोती आसपासका क्षेत्रको तापक्रम दिउँसो ३९ देखि ४० डिग्री सेल्सियस हाराहारीमा पुग्छ । बिहान बेलुका खलखली पसिना आउने गर्मी हुन्छ ।

गर्मीले उकुसमुकुस भएका बेला नागरिकलाई विद्युतको लाइन काटिँदा झन् हैरानी भएको छ । स्थानीयका अनुसार गत २४ घण्टामा कावासोती क्षेत्रमा झडै २०–२५ पटक लाइन काटिएको छ । लाइन काटिएपछि सर्वसाधारणले जति नै गर्मी भए पनि एसी, पङ्खा, कुलर चलाउन पाएका छैनन् ।

अघोषित रुपमा लोडसेडिङ भए पनि नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय कावासोतीका प्रमुख सूर्यनारायण मण्डलले अहिले देशभर कतै पनि लोडसेडिङ नरहेको बताउनुभयो ।

नारायणघाट–बुटबल सडक विस्तारको क्रममा रहेकाले पोल र ट्रान्फर्मर सार्नुपर्ने भएर लाइन जाने गरेको कार्यालय प्रमुख मण्डलले बताउनुभयो । लामो समयसम्म लाइन जाने गरेपछि प्राधिकरणले कुनै जानकारी दिने गरेको छैन ।

कावासोती २ का प्रेम श्रेष्ठले विद्युत प्राधिकरणले मनलाग्दी गरेको भन्दै आक्रोश पोख्नुभयो । प्राधिकरणले अघोसित रुपमा लोडसेडिङ गरिरहेको छ, होइन भने यो गर्मीको समयमा पटक पटक लाइन काट्न पर्ने कारण के छ ? आक्रोशित हुँदै श्रेष्ठले भन्नुभयो ।

प्राधिकरणले सडक विस्तार सुरु भएदेखि नै यसरी नै लाइन काटिरहेको स्थानीय उपभोक्ताको भनाइ छ । पानी नपर्दा, हावाहुरी नचल्दा पनि निरन्तर लाइन काटिएको उपभोक्ताको गुनासो छ ।

कावासोतीमा आठ वटा नयाँ ट्रास्न्फर्मर राख्ने भनेर पोष्ट बनाएको र त्यसलाई चार्ज गर्न र लाइन मिलाउन समय लागेकाले पनि लाइन काटिएको कार्यालय प्रमुख मण्डलको भनाइ छ । उहाँले मुख्य राजमार्ग विस्तारसहित विभिन्न भित्री सडकको विस्तार भइरहेकाले संरचना सारिरहनुपर्ने हुँदा उपभोक्ताले मार खेपिरहनुपरेको बताउनुभयो ।

गर्मी बढेकाले एसी, पङ्खा, कुलर चलाउँदा भोल्टेज कम भएकाले पनि लाइन काटिएको मण्डलले प्रष्ट पार्नुभयो । जाँदा झ्याप्पै जाने र आउँदा तीन पटक लाइन आएपछि मात्र नियमित हुने गरेकाले यसले बल्व फ्युज हुने तथा अन्य विद्युतीय सामग्री बिग्रिने उपभोक्ताको गुनासो छ ।

प्रतिक्रिया