मध्यविन्दुमा हाम्रो खुसी पाठ्यक्रम निर्माण अन्तिम चरणमा


मध्यविन्दु (नवलपरासी), २० पुस,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा आगामी शैक्षिक सत्र २०८१ देखि हाम्रो खुसी पाठ्यक्रम लागु गर्नेगरी पाठ्यक्रम निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
नगरपालिकामा हाम्रो खुसी पाठ्यक्रम निर्माणको काम अहिले विभिन्न चरणमा भइरहेको छ ।

पाठ्यक्रम निर्माणको लागि पाठ्यक्रम अध्ययन तथा अनुसन्धान केन्द्र गठन गरेर काम भइरहेको मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो । गत वर्ष देखि सुरु भएको हाम्रो खुसी पाठ्यक्रम निर्माणको प्रारम्भिक छलफलले अब मूर्त रूपमा लिने चरणमा प्रवेश गरेको नगर प्रमुख अधिकारीले बताउनुभयो ।
शुक्रवार देखि नगरपालिकामा हाम्रो खुसी पाठ्यक्रम सम्बन्धमा सरोकारवालाहरू लागि अभिमुखीकरण तथा कार्यशाला सुरु भएको छ ।

शुक्रवार कार्यशालाको पहिलो दिन नगर कार्यपालिका सदस्यहरू, नगर भित्रका सबै विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति सदस्यहरू, वडा शिक्षा समितिका संयोजक तथा प्रतिनिधि, विषय शिक्षक, नगर शिक्षा समिति, पाठ्यक्रम लेखन तथा सम्पादन मण्डल, विज्ञ सदस्य समेतको सहभागितामा कार्यक्रम सञ्चालन भयो ।
नगरपालिकाले आफ्नो प्राथमिकताको कार्यक्रमको रूपमा अगाडी सारेको पाठ्यक्रमबारे समान बुझाईको विकास गर्न सरोकारवालाहरू सहितको कार्यशाला आयोजना भएको नगर प्रमुख अधिकारीले बताउनुभयो ।
“मानवको खुसी उसको जीवनसँग, व्यवहार सँग र सभ्यतासँग जोडिएको विषय भएको भन्दै नगर प्रमुख अधिकारीले समाज परिवर्तन गर्ने असल बिचारको रूपमा खुसी पाठ्यक्रम निर्माण भइरहेको छ”,उहाँले भन्नु भयो,“मानव इतिहाससँगै मानिसलाई खुसी रहन गौतम बुद्धले विश्वभर जागृत गर्नु भएको विचारशीलता र रामले गरेको पराक्रमहरू मानिसको खुसीहरू सँगै जोडिएको छ । ”
निर्माणाधीन पाठ्यक्रम सिकाई र व्यवहारमा आधारित हुने नगरप्रमुख अधिकारीले बताउनुभयो । “हाल समाजमा देखिएका विभिन्न निराशाका संकेतहरू चिर्नका लागि समाज र मानव सभ्यता बुझ्ने जनशक्तिहरू आवश्यक रहेको छ”,उहाँले भन्नु भयो ।
मध्यविन्दु नगरपालिका उपप्रमुख पूर्णकला चौधरीले पाठ्यक्रम निर्माणमा शिक्षकहरू र विभिन्न जिम्मेवारीमा रहनु भएका सदस्यहरूले गरिरहनु भएको पहलहरू प्रशंसनीय रहेको भन्दै उहाँले निर्माण गर्ने पाठ्यक्रमले मध्यविन्दु नगरपालिकाबाट देशभर सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले स्थानीय सरकारको रूपमा मध्यविन्दु नगरपालिकाले नागरिकसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका हरेक क्षेत्रमा सुधारको योजना सहित अगाडी बढेको बताउनुभयो ।
“नगरपालिकाले विभिन्न पक्षहरू मध्ये शिक्षालाई प्राथमिकताका साथ अगाडी बढाउने क्रममा हाम्रो खुसी पाठ्यक्रमलाई समेत अगाडी बढाएको छ”,उहाँले भन्नु भयो ।
अहिले कक्षा १ देखि ८ सम्मका लागि पाठ्यक्रम लेखनको काम भइरहेको पाठ्यक्रम अध्ययन तथा अनुसन्धान केन्द्रका संयोजक हरि देवकोटाले बताउनुभयो । लेखन तथा सम्पादन पस्चात यसलाई पूर्ण रूपमा लागु गरेर अगाडी बढिने उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया