हुप्सेकोट गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माण सम्पन्न


हुप्सेकोट, ५ असोज, नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माण कार्य अन्तिमचरणमा पुगेको छ । गाउँपालिकाको वडा नं.४ झ्यालबासमा निर्माण गरिएको तीनतले आरसिसी भवन निर्माण कार्य सकिए सँगै नयाँ भवन वाट कामकाज सञ्चालन गर्ने तयारी गरिएको छ ।
करिब आठ करोड रुपैयाँ लागतमा निर्माण सकिएको गाउँपालिका भवन वाट केही दिनमा औपचारिक रूपमा सेवा सुरु गर्ने तयारी भइरहेको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनु भयो ।
“अहिले सम्म साविकको गाउँविकास समितिको भवन वाट कार्यालय सञ्चालन गर्नु पर्दा जनप्रतिनिधि, कार्यालय र शाखाहरू छुट्टाछुट्टै छरिएर सञ्चालन हुँदै आएको थियो  अब एकै ठाउँमा काम हुने हुँदा सेवाग्राहीलाई सहज हुने भएको छ”,उहाँले भन्नु भयो ।
भवनको पहिलो तला पहिलो चरणमा निर्माण गरिएको थियो भने बाकी निर्माण कार्य दोस्रो चरणमा पुरा गरिएको हो ।
“भवनको पहिलो तला प्रदेश सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा निर्माण गरिएको हो भने दोस्रो र तेस्रो तला संघिय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा निर्माण गरिएको हो”,उहाँले भन्नु भयो ।
ह्याविट्याट कन्सट्रक्सन इन्जिनियर्स प्रा.लि.काठमाडौँले २०८१ जेठ मसान्त सम्म निर्माण सक्नुपर्ने गरि सम्झौता गरेकोमा समय अगावै निर्माण कार्य सकिएको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत टंकनाथ घिमिरेले बताउनु भयो ।
“भवनको दोस्रो र तेस्रो तला आगामी जेठ मसान्त सम्म निर्माण सम्पन्न गर्ने गरि निर्माण कम्पनी संग सम्झौता भएको थियो, सम्झौता मिति भन्दा अगाडि नै भवन निर्माण कार्य सकिएको छ”,उहाँले भन्नु भयो ।
सात सय ५० वर्ग मिटरमा बनेको भवन भूकम्प प्रतिरोधी र अपाङ्ग मैत्री बनेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घिमिरेले बताउनु भयो ।

 

प्रतिक्रिया